नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेसँगको अन्तर्वार्ता

शेखर कोइरालाले ओलीसँग मात्रै होइन, देउवा र प्रचण्डसँग पनि छलफल गर्नुहुन्छः बद्री पाण्डे

फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग सिटको बार्गेनिङ नगरेको कोइराला निकट नेताले दावी गरेका छन्।

नेता शेखर कोइरालाले सञ्चारमाध्यममा भनिँदै आएजस्तो देउवासँग यति नै सिट चाहिन्छ भनेर अडान नगरेको नेताहरु बताउँछन्।

चुनावमा सम्मानजनक सिट र स्थानको लागि आग्रह मात्रै गरेको तर पार्टीलाई प्राप्त सिटमध्ये ४० प्रतिशत सिट चाहिन्छ भनेर अडान नराखेको कोइराला निकट मानिने नेता पाटीका सहमहामन्त्री बद्री पाण्डेले बताए।

महामन्त्री पाण्डेका अनुसार नेता कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्रै नभई अन्य दलका शीर्ष नेताहरुसँग पनि भेटेर आगामी चुनाव केन्द्रित छलफल गरेका छन्।

सञ्चारमाध्यमले ओलीसँगको भेटघाटलाई मात्रै महत्वका साथ सम्पे्रशण गर्दै आएको तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ लगायत अन्य दलका शीर्ष नेता संगको भेटबारे मिडियाले चासो नदिएको पाण्डेको भनाइ छ।

शेखर समूहको चुनावी रणनीति, सभापति देउवासँगको अडान र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको भेटघाटको औचित्यबारे यो समूह निकट मानिने नेता तथा पार्टीका सह–महामन्त्री बद्री पाण्डेसँग देशसञ्चारकी ईश्वरी बरालले गरेको कुराकानीको सम्पादित अंश–

नेता शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी सहकार्यबारे पटक–पटक छलफल गर्नुभएको छ, तपाई कोइरालानिकट मानिनुहुन्छ, चुनावी सहकार्यबारे कोइरालाले ओलीसँग सहमति नै गरिसक्नुभएको हो?

नेता कोइरालासँग म प्रायः सँगै हुन्छु, उहाँले ओलीसँग मात्र होइन, पार्टी सभापति देउवा र अन्य नेताहरुसँग पनि भेट्नुहुन्छ।
देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग पनि समय समयमा छलफल गर्नुहुन्छ।
पार्टीभित्रकै शीर्ष नेता तथा पदाधिकारीबीच पनि छलफल हुन्छ तर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएका छलफललाई मात्रै महत्व दिइएको छ।
ओलीसँग सामान्य राजनीतिक भेटघाट हुन्छ, चुनावी तालमेलबारे कुरा भएको छैन।

त्यसोभए ओली र कोइरालाबीच हुँदै नभएका सहमतिबारे किन चर्चा भइरहेको छ अहिले, केही न केही संकेत नमिलीकन आधारहीन शंका त भएको हैन होला?

आगामी चुनावमा सत्ता गठबन्धनसहित जाने भनेर कांग्रेसभित्र सर्वसम्मतीले निर्णय भएको हो। चुनावको मुखमा गठबन्धन इतरसँग सम्वन्ध बढाउने काम राजनीतिमा पवित्र मानिँदैन।

हाम्रो सम्पूर्ण कोसिस भनेको कोइरालाले पार्टी सभापति देउवासँगै संवाद गर्नुहोस्,पार्टीभित्र न्यायोचित अवशरको वितरणलाई स्थापित गर्न सकियोस्, कसैलाई पनि भेदभावमा परेको महसुस नहोस्,टिकट वितरण पारदर्शी र निष्पक्ष ढंगले सम्पादन गरेर अघि बढ्दा मात्रै हामी गठबन्धनमा जाँदा जित्छौँ, गठबन्धनमा जाँदै गर्दा पनि टिकट नपाएका साथीहरुलाई एकै स्वरले भन्यौँ भने आश्वस्त पार्न सक्ने अवस्था हुन्छ।

यो पनिः देउवासँग नपाएको स्पेस शेखरले ओलीसँग पाउलान् त?

होइन भने टिकट नपाएका साथीहरुले रुष्टता देखाउने, आक्रोश पोख्ने र गठबन्धनलाई सहयोग नगर्ने वातावरण हुन्छ,त्यसो भयो भने गठबन्धनमा दरार आउँछ, अविश्वास बढ्छ, गठबन्धनले जित्ने संभावना घटेर जान्छ पार्टीमा एकता देखिन पर्‍यो, न्याय र निष्पक्षता पनि देखिनुपर्‍याे , नेता कोइराला सभापतिसँग सद्भावपूर्ण संवादमा हुनुहुन्छ।

गठबन्धनमा कांग्रेसले पाएको सिटको ४० प्रतिशत शेखर समूहले पाउनुपर्ने अडानबाट पछि हट्यो कि अडानमै छ?

अंकगणितमा बाहिर बोल्न खोजेका छैनौँ, पार्टीको १४ औँ महाधिवेशनपछि अंकमा बोल्न र माग राख्न खोजेका छैनौँ, भागबण्डाको राजनीतिले पार्टीलाई फाइदा गरेन। कूटनीतिक रुपमा सैद्धान्तिकीकरण गर्न मिल्ने शव्द भनेको अवसरको न्यायोचित वितरण भनेका हौँ, अन्त्यमा सिट बाँड्ने भनेको त फेरि गणितकै कुरा भयो,त्यो गणितमा पुग्दा महाधिवेशनपछि शेखर कोइरालाको जुन उपस्थिति हो ती सबैको प्रतिनिधित्व हुनुपर्‍यो भन्ने माग हो।

पार्टीको १४ औँ महाधिवेशनमा शेखर समूहमा ४० प्रतिशत उभिएका थिए, तसर्थ ४० र ६० दुवै प्रतिशतको सम्वोधन हुनु पर्‍यो। १०० प्रतिशतकै प्रतिनिधित्व भयो भने पार्टी एक ठाउँमा आउँछ, विभाजित देखिँदैन।

प्रतिशतको माग राख्दा पार्टी सभापति देउवाको प्रतिक्रिया कस्तो हुन्छ?

देउवाले सकारात्मक प्रतिक्रिया जनाउनुहुन्छ, हामी प्रायः औपचारिक कार्यक्रममा मात्रै सँगै हुन्छौँ, अनौपचारिक भेटघाटमा कोइराला एक्लैले देउवासँग छलफल गर्नुहुन्छ, औपचारिक बैठकहरुमा खुला रुपमा सबै कुरा छलफल गर्न पनि अप्ठेरो हुन्छ, शेखर कोइराला आफैँ देउवासँगको अनौपचारिक संवादमा हुनुहुन्छ, कहिले उहाँ देउवालाई एक्लै भेट्न जानुहुन्छ,कहिले आफ्नै समूहका अन्य नेता पनि लिएर जानुहुन्छ। छलफलमा देउवा सकारात्मक हुनुहुन्छ भन्ने सन्देश हामीलाई प्राप्त भएको छ।

पार्टीमा मागेजति सिट नपाए शेखर समूहले चुनावमा एमालेसँग सहकार्य गर्ने हो?

सहकार्य हुँदैन, किनकि प्रमुख प्रतिपक्षी दलसँग सहकार्य गर्नेबित्तिकै पार्टी र गठबन्धनभित्र अविश्वास बढ्छ। पार्टी र गठबन्धनका उम्मेदवारहरु विश्वासको संकटमा पर्छन्। हामीले सावधानीपूर्वक पार्टी र गठबन्धन मिलाउनु छ।

गठबन्धनमा आबद्ध अन्य दलका भोट लिनु छ, हाम्रा भोटहरु दिनु छ। सत्ता गठबन्धनमा जानु भनेको तरवारको धारमा गएजस्तो भएका कारण कुशलतापूर्वक, सन्तुलित ढंगले भूमिका र जिम्मेवारी निभाउनुपर्नेछ।

भदौ २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्