अपडेट

दार्चुला बाढी–पहिरोः घाइतेहरुलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै

धनगढी – दार्चुलामा बाढी र पहिरोमा फसेका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरिरहेको छ। बाढी–पहिरोमा परेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ। अझै केही बेपत्ता रहेका छन्।

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि सेनाको हेलिकोप्टर बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट घटनास्थल पुगेको हेलिकोप्टरले उद्धार गरिरहेको छ। अहिले घाइतेलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल खलंगा ल्याउन थालिएको छ।

दार्चुला प्रहरीका अनुसार बाढी पहिरोमा परी ९ जना बेपत्ता भएका छन् भने ८ जना घाइते रहेका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।

बाढी पहिरोमा परी बेपत्ता हुनेहरुमा नौगाड गाउँपालिका–१ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँकी १५ वर्षीया महामरी ठगुन्ना, नौगाड–२ दल्लेकका ४० वर्षीया मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षीय धनसिंह कार्की, उनका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की रहेको प्रहरीले जनाएको छ।

यस्तै महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीया मानमती साहु बेपत्ता भएका छन्।

नौगाड गाउँपालिका–२ का अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको प्रहरीले जनाएको थियो। यस्तै, महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ।

भदौ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्