एसिया कप फाइनलः पाकिस्तानले टस जितेर पहिले बलिङ गर्दै

काठमाडौँ – एसिया कप टी–२० क्रिकेटको फाइनलमा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। पाकिस्तानले टस जितेसँगै श्रीलंका पहिले ब्याटिङ गर्न केहीबेरमा मैदानमा उत्रिँदै छ।

दुबई अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा ५ पटकको च्याम्पियन श्रीलंका र २ पटकको च्याम्पियन पाकिस्तान दुबै उपाधि जित्ने लक्ष्यमा रहेका छन्।

पाकिस्तानले १० वर्षपछि एसिया कपको उपाधि जित्ने अवसर प्राप्त गर्दा श्रीलंका ८ वर्षपछि उपाधि दौडमा रहेको छ।

युएईमा जारी एसियाको सर्वाधिक ठूलो प्रतियोगितामा १६ दिनमा ६ टिमले कुल १३ खेलमा प्रतिस्पर्धा गरेका थिए। समूह चरणको अन्तिम खेलमा एक–अर्काविरुद्ध भिड्दा श्रीलंकाले पाकिस्तानलाई पराजित गरेको थियो। त्यसैले श्रीलंका फाइनलमा पनि सोही नतिजा दोहोर्‍याउने लक्ष्यमा छ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तान र श्रीलंकाबीच अहिलेसम्म कुल २२ भिडन्त भएको छ। जसमा पाकिस्तानले १३ खेलमा जित निकाल्दा श्रीलंकाले ९ खेलमा जित हासिल गरेको छ।

एसिया कपमा भने दुई टिम चौंथो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन्। पछिल्लो पटक २०१४ मा भएको फाइनलमा श्रीलंकाले जित हासिल गरेको थियो।

दुबै टिमले सन् २००० र १९८६ मा फाइनलमा स्थान बनाएका थिए। फाइनल जित्ने अर्थमा श्रीलंका अगाडि रहेको छ। श्रीलंकाले १९८६ र २०१४ को फाइनल जित्दा पाकिस्तानले २००० मा भएको प्रतियोगितामा जित आत्मसाथ गरेको थियो।

भदौ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्