'उपाय'का कमर्सियल डिरेक्टर राहुल मल्ल ठकुरी।

काठमाडौँ – ‘हालै मात्र उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो परिवर्तन गरेको छ। अब उपाय सिटी कार्गो ‘उपाय’को नामले चिनिने छ,’ देश सञ्चारसँगको कुराकानीका क्रममा ‘उपाय’का कमर्सियल डिरेक्टर राहुल मल्ल ठकुरीले भने।

ठकुरी यहाँको मार्केटिङ, सेल्स र विजनेस डिपार्टमेन्ट हेर्छन्। ‘नेपालमा व्यापारिक र निजी प्रयोजनको लागि सस्तो, भरपर्दो र पारदर्शिताका साथ ढुवानी सेवा प्रदायकको परिचित नाम उपाय सिटी कार्गो हो भन्दा अत्योक्ति नहोला,’ उनी दाबी गर्छन्।

उपायले प्रविधिको सही प्रयोग गरेर समग्र ढुवानी व्यवसायलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउने प्रयास गरिरहेको उनको भनाइ छ।

‘पुरानो लोगोको सारलाई राख्दै नयाँ लोगो पुनः डिजाइन गर्नु चुनौती नै हुँदो रहेछ,’ नयाँ लोगोबारे जानकारी दिँदै उनले भने, ‘निलो र सुन्तला रंगमा डिजाइन गरिएको उपायको नयाँ लोगोले विश्वास र उर्जालाई प्रतीक गर्न खोजेको छ।’

उपायको नयाँ लोगो।

उनका अनुसार नयाँ लोगोमा तीन वटा माइल छन्, जसले ‘उपाय’को पूर्ण ढुवानीको प्रक्रियालाई चित्रण गरेको छ। ‘पहिलो माइल, जुन ढुवानी प्रक्रियाको सुरुवात हो। मध्य माइल, जहाँ सामान गन्तव्यसम्म पुर्‍याउनको लागि गरिने कार्यलाई जनाउँछ। अन्तिम माइलले सामान गन्तव्यमा सुरक्षित रूपमा पुगेको जनाउँछ,’ उनी भन्छन्।

०००

उपाय सिटी कार्गो एक लजिष्टिक कम्पनी हो, जहाँ दुई पांग्रेदेखि २१ टनको गाडी भाडामा तथा एक ठाउँदेखि अर्को ठाउँसम्म सामान पुर्‍याउन चाहिएमा सामान ओसार–पसार गर्ने सेवा उपलब्ध छ।

उपाय सिटी कार्गोले व्यक्तिगतदेखि कर्पोरेट, इ–कमर्श कम्पनीहरुका कुनै पनि सामान मुलुकका विभिन्न सहरमा ओसार–पसार गर्ने सेवा उपलब्ध गराउँछ। उपाय सुरु भएको लगभग साढे ३ वर्ष भयो। चैत २०७५ सालमा सुरु भएको हो।

सुरुवाती वर्षमा उपायले काठमाडौँ उपत्यकामा मात्र आफ्नो सेवा विस्तार गरेको थियो। तर, तेस्रो वर्षसम्म आइपुग्दा यसले देशका ७ वटा मुख्य सहरमा आफ्नो सेवा विस्तार गरिसकेको छ।

मल्ल थप्छन्, ‘पोखरा, बुटवल, भैरहवा, चितवन, विराटनगर, वीरगञ्ज र काठमाडौँ गरी ७ वटा सिटीमा सर्भिस प्रोभाइड गरिराखेको छौँ।’

उपायमा अहिले लगभग १६५ जना स्टाफ छन्। सात वटा सिटीमा ब्रान्च भए पनि मेजोरिटी चाहिँ काठमाडौँमा छ। अहिलेको अवस्थामा उपायले दिनमा हजारदेखि १२ सय ट्रिप र ३ हजार वटा डेलिभरी गरिराखेको उनको भनाइ छ।

उपायसँग अहिले लगभग चार हजार गाडी र मोटरसाइकल छन्। पछिल्लो दुई–तीन महिनामा उपायले आफ्नो काम धेरै नै विस्तार गरेको उनी बताउँछन्।

उपायले अब भने देशका ५५ वटा सहरमा सामान एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन मिल्ने, ट्र्याक गर्न मिल्ने, ट्रेस गर्न मिल्ने, सर्भिस ल्याउँदै छ। कतिपय ठाउँमा भने ल्याइसकेको पनि छ।

उनका अनुसार ‘उपाय’का सेवाहरु उपभोक्ताले ‘सिस्टमेटिक प्राइस’मा लिन सक्छन्। दूरी र समय हेरेर शुल्क निर्धारण हुने भएकोले उपभोक्ताले बार्गेनङ गर्न नपर्ने उनको दाबी छ।

उनी थप्छन्, ‘खर्च देखाउनलाई बिल पनि प्रोभाइड गर्छौँ, ट्राकिङ सिस्टम पनि प्रोभाइड गर्छौँ।’

उपायका चार वटा ‘सेग्मेन्ट’ छन्– उपाय अनडिमाण्ड, मेरो उपाय, उपाय फुलफिलमेन्ट र उपाय ट्रान्सपोर्ट।

‘अनडिमान्ड’बाट उपायले कुनै पनि एक सामान तत्कालै पुर्‍याएर सेवा दिन्छ। यस सेवाबाट साढे एक टनसम्मको समान ढुवानी हुन्थ्यो। त्यसपछि कार्गो भ्यान भनेर ५ सयदेखि ७०० किलो बोक्ने भ्यान जोडे। तेस्रोमा जोडे मोटरसाइकल, जसले २० किलोभन्दा तलको सामान दैनिक ढुवानी गर्न सुरु गर्‍यो।

अनडिमाण्ड सँगसँगै अर्को आयो ‘मेरो उपाय’। यसबाट कसैलाई भाडामा गाडी चाहियो भने उपायले उपलब्ध गराउँछ। पूर्व, मध्य र पश्चिमको केन्द्रहरुबाट यो सेवा उपलब्ध छ।

उपायले चालक र ग्राहकलाई विस्तारै जोड्दै गयो। कम्पनीका अनुसार ‘फुलफिल्मेन्ट सर्भिस’अन्तर्गत एकैसाथ धेरै ठाउँमा सामान डेलिभरी गर्न सकिन्छ। यो सेवा प्रदान गर्न ‘रुट प्लानिङ सिस्टम’को प्रयोग गरिने र यसले ढुवानीमा लाग्ने समय तथा पैसा दुबैको बचत हुन गइ ग्राहकलाई फाइदा हुने कम्पनीको दाबी छ।

जुनसुकै बेलामा सेवा दिन सक्ने भएकाले उपाय अरुभन्दा फरक रहेको मल्लको भनाइ छ। भन्छन्,‘जहिले चाहियो तहिले एपबाट गाडी बुक गर्न सक्नुहुन्छ, हाम्रो टन्नै गाडी भएकाले गाडी नपाउने चान्स पनि निकै नै कम हुन्छ। अहिलेको अवस्थामा क्लाइन्टहरुलाई केही भयो भने हामी छँदैछौँ भनेर विश्वस्त पारेको छौँ।’

उपायको अबको योजना भनेको नेपालको जुनसुकै कुनामा पनि दुई पांग्रेदेखि २१ टनसम्मको गाडी उपलब्ध गराउने हो। अर्को सपना भनेको नेपालको कुनै पनि स्थानमा एक ठाउँदेखि अर्को ठाउँमा जुन पनि सामान पुर्‍याउनु रहेको मल्ल सुनाउँछन्।

उनी थप्छन्, ‘यही क्रममा शुभलाभ ट्रान्सपोर्टसँग सहकार्य सुरु भएको छ। अन्य त्यस्ता यातायात समितिहरु पनि जोड्दै लैजाने योजना छ। जुन समितिहरु त्यही एक प्लेटफर्ममा उपलब्ध भएर बिजनेस पार्टनर बन्नेछन्।’

तीनदेखि पाँच वर्षमा लगानीकर्तालाई प्रतिफल दिने योजना उनीहरुको छ। मल्ल भन्छन्, ‘विश्वसनीय कम्पनी खोजिराख्नुभएको छ भने ढुक्क र भरपर्दो माध्ययमको लागि उपाय नै सम्झनुहोस्।’

भदौ २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्