नेपालमा कोभिड प्यान्डेमिकको एक झलकः साप्ताहिक विश्लेषण

कोरोना संक्रमणदर घटे पनि सतर्कता अपनाउन जरुरी छ

पछिल्लो समय विश्व, दक्षिण एसिया र नेपालमा कोरोना संक्रमण क्रमशः नियन्त्रित भई ओर्लिन खोजिरहेको देखिन्छ। यद्यपि, विश्वका कतिपय देशमा, गतांकमा उल्लेख गरिएजस्तै, यसको आतंक जारी नै छ।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर् याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण केही घट्दै गएको देखिन्छ।

दक्षिण एसियाको पछिल्लो करिब एक महिना, सन् २०२२ अगस्ट १० देखि सेप्टेम्बर ६ (२८ दिन), को कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १ मा देखाइएको छ।

पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमण क्रमशः घट्दै गएको छ। दक्षिण एसियामा गत हप्ता दैनिक संक्रमण औसतमा ७५०० जति देखिएको छ जुन अघिल्लो हप्ता १०००० जति थियो।

पछिल्लो समय दक्षिण एसियामा दैनिक कोरोना संक्रमण भारतलगायत अधिकांश देशमा घट्दै गएको छ।

त्यस्तै, दक्षिण एसियामा पछिल्लो समय दैनिक मृत्यु पनि क्रमशः घट्दै गएको छ। दक्षिण एसियाको दैनिक कुल कोरोना मृत्यु गत हप्ता औसतमा ३७ रह्यो जुन अघिल्लो हप्ता ६६थियो।

नेपालको दैनिक नयाँ संक्रमण


यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ सेप्टेम्बर ४ देखि १० (वि.सं २०७९ भदौ १९ देखि २५)जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न.२ मा प्रस्तुत गरिएको छ।

यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, भदौ २५गते शनिबारसम्म, देशभरि जम्मा ९०२ जना नयाँ संक्रमित थपिई संक्रमितको संख्या९९८६५४पुगेको छ।

अघिल्लो साता साप्ताहिक कुल संक्रमण १०८२ थियो।

यसरी नेपालमा एक महिनाभन्दा लामो समयदेखि कोरोना संक्रमण घट्दै गएको छ।

त्यसैगरी, नेपालमा कोरोना मृत्यु पनि घट्दै गएको छ। गत हप्ता साताभरिको कोरोना मृत्यु ५ पुगेको छ जुन दुई हप्ताअघि ८ थियो। हालसम्मको देशको जम्मा कोरोना मृत्यु १२०१२ पुगेको छ।

गत हप्ता जम्मा ११६३४जनामा पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि १२२४० थियो।

गत साता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकामा ४६.६५% संक्रमण देखियो जुन दुई हप्ताअघि५४.८१% थियो। पछिल्लो समय चितवनमा कोरोना संक्रमण अत्यधिक देखिने गरेको छ।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी)दर


प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न.३ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर र नयाँ संक्रमण प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम६.५२% देखि अधिकतम९.२७%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर७.८५% रह्यो जुन दुई हप्ताअघि८.८४%थियो।

नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएको छ।

पछिल्लो समय विश्व र दक्षिण एसियाको समग्र दैनिक कोरोना संक्रमणमा केही हप्तादेखि कमी देखिँदै आएको छ।

दैनिक कोरोना मृत्युको प्रवृत्ति पनि पछिल्लो समय घट्दै गएको देखिन्छ।

नेपालमा पनि गतहप्ता (०७९ भदौ १९ देखि २५ गतेसम्म) साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दरमा केही कमी आएको देखिन्छ।

गत हप्ता माथि उल्लेख गरिएजस्तै, साप्ताहिक कुल कोरोना संक्रमण संख्या घटेको छ भने साप्ताहिक औसत संक्रमण दरमा पनि कमी आएको छ। त्यस्तै, साप्ताहिक कोरोना मृत्यु पनि घटेको छ। तर, पछिल्लो समय नेपालमा कोरोना संक्रमण काठमाडौँ उपत्यका बाहिर चितवन, मकवानपुर, नवलपरासी आदि ठाउँमा निकै बढेको पाइएको छ।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ।

तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ। तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ।

हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ।

पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ।

यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक विरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

भदौ २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्