काठमाडौँ- नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले मंगलबार उच्चस्तरीय भेटवार्ता गरिरहेका छन्।

उनले संसद भवनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका हुन्।

भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ।
यस्तै, उनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि भेट गरेका छन्।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्शु सोमबार काठमाडौँ आएका हुन्।

सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

उनले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले संसद भवनमा नेताहरुलाई भेटेर फर्किँदै गर्दा लीको सवारीका केही तस्बिर खिचेका छन्।