छुर्पी र अकबरेको गुणस्तर खस्किएकोप्रति चिन्ता व्यक्त

काठमाडौँ – इलामको अकबरे खुर्सानी र छुर्पीको गुणस्तर र बजारीकरणबारे सरकारी निकाय, उद्योगी र उत्पादनकर्ताबीच छलफल भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ द्वारा सूर्योदय नगरपालिका, फिक्कल र इलाम नगरपालिकामा आयोजित अकबरे खुर्सानी र छुर्पीको गुणस्तरबारे छलफल भएको हो।

छलफलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्थानीय उत्पादन छुर्पी, अकबरेको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिइन्।

इलामको पहिचानका रुपमा स्थापित अकबरे र छुर्पीमा पछिल्लो समय समस्या देखिएको बताएकी डा. जोशीले डेरी उद्योगले सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताइन्। उनले स्वदेशमा बिक्री वितरण गर्नेदेखि विदेश निर्यात गर्ने सामाग्री गुणस्तरीय हुनुपर्ने र विभागबाट सम्पादन हुने कार्यलाई सरलीकृत गर्दै जाने जानकारी दिइन्।

कार्यक्रममा डेरी सञ्चालक लिला काफ्ले खत्रीले डेरीका उत्पादन गाउँबाट संकलन गरी बजार पठाउँदा राम्रो प्याकेजिङ हुन नसक्दा उत्पादनको गुणस्तर कायम गर्न असर पुगेको बताए।

यस्तै अर्का डेरी सञ्चालक तुलु तामाङले दूग्ध परिकारमा मिसावटको क्रम बढ्दै गएको हुँदा सम्बन्धित निकायले अनुगमन गर्नुपर्नेमा जोड दिए।

त्यसैगरि, स्थानीय एक अचार उद्योग सञ्चालक कमला बाँस्कोटाले प्राविधिक ज्ञानको अभावमा अकबरे खुर्सानीको उत्पादनलाई विविधिकरण गर्न नसकिएको गुनासो गरिन्। बाँस्कोटाले खुर्सानीमा रोगको समस्या देखिएको र समयमै पहिचान हुन नसक्दा समस्या भएको बताइन्।

इलाम उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य श्री विष्टले खुर्सानी, छुर्पी तथा घ्यूमा व्यवसायीबीच अस्वस्थ्य प्रतिस्पर्धा हुँदा प्रत्येक वर्ष बजार खुम्चिँदै गएको बताए।

फिदिमको राँके क्षेत्रबाट चाउचाउ कम्पनीहरुले ठूलो मात्रामा खुर्सानीको माग गरे पनि गुणस्तर कायम राख्न नसक्दा यसपटक कृषकहरुले करोडौँ रकमको कारोबार गुमाउनु परेको विष्टले बताए। उनका अनुसार भारतीय क्षेत्रबाट आयात हुने अकबरे खुर्सानी मिसावट गरी बिक्री वितरण हुने हुँदा स्थानीय रैथाने अकबरेको कारोबारसमेत ओझेलमा पर्दै गएको उनको भनाइ छ।

कार्यक्रममा इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालु, सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई, उद्योगी व्यवसायी, खाद्य तथा गुण नियन्त्रणका कर्मचारी, कृषक, छुर्पी र अकबरे खोर्सानीका उत्पादन प्रशोधन तथा प्रशोधन तथा वितरणकर्ताको सहभागिता रहेको प्रदेश महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिए।

भदौ २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्