पाकिस्तान विपद्का पाठ

पाकिस्तानको भयानक बाढी किन बन्यो संसारभरिकै लागि चिन्ताको विषय?

बाढीका कारण डुबानमा परेको सिन्ध प्रान्तको दादु जिल्लाको एरियल दृष्य । तस्बिर : एएफपी

काठमाडौँ- ‘जलवायुसम्बद्ध अतिशय घटनाले कृषिका हरेक क्षेत्र र मत्स्य क्षेत्रको उत्पादन प्रभावित भएको छ, जसको नकारात्मक प्रभाव खाद्य सुरक्षा र जीविकोपार्जनमा परेको छ।’

जलवायु परिवर्तनसन्बन्धी अन्तरसरकारी निकाय आइपिसिसीको छैटौँ प्रतिवेदन (दोस्रो कार्यगत समूह) मा ‘हाइ कन्फिडेन्स’ अर्थात् उच्च विश्वासका साथ भनिएको छ।

त्यसको पछिल्लो प्रमाण बनेको छ- पाकिस्तानमा हालै आएको बाढी र त्यसले जनधनमा गरेको क्षति। भीषण वर्षा र उत्तरी भेगको हिमाली क्षेत्रका हिमनदी पग्लिएर आएको बाढीका कारण तीन करोड ३० लाख मानिस प्रभावित भए। करिब १४ सय जनाले ज्यान गुमाए। राजमार्ग, सर्वसाधारणका घर, रेलमार्ग, घरपालुवा जनावर तथा खेतीबाली बगायो। त्यसबाट ३० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको छ।

पाकिस्तान सरकार तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विषम मौसमी घटना सघन र विनाशकारी बन्नुमा जलवायु परिवर्तन कारक रहेको बताएका छन्। बाढीका कारण पाकिस्तानको एक तिहाइ क्षेत्र डुबानमा परेको थियो। पाकिस्तानको बाढी र यसले गरेको क्षतिलाई जलवायु परिवर्तनका कारण सघन बनेको अतिसय मौसमी घटनाको पछिल्लो गम्भीर उदाहरणका रूपमा लिइएको छ।

बाढीबाट प्रभावित भएकाहरूको तत्काल राहतका लागि १६० मिलियन अमेरिकी डलर बराबरको सहयोगका लागि विश्व समुदायसँग महासचिव गुटरेसले अपिल समेत गरेका थिए। विभिन्न देशले सहयोग गरिरहेका छन्, त्यसमा नेपाल पनि सामेल भएको छ। नेपालले हालै दुई करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको हो।

युनिसेफका अनुसार बाढीले सर्वसाधारणका घरसँगै धेरै स्वास्थ्य संस्था, खानेपानी वितरण प्रणाली तथा विद्यालयमा क्षति गरेको छ। पछिल्लो तथ्यांकअनुसार ६ लाख ६४ हजारभन्दा धेरै मानिस अस्थायी शिविरमा बस्न बाध्य छन्। पाकिस्तानको पछिल्लो इतिहासमा सबैभन्दा भीषण बाढीका कारण करिब ३४ लाख बालबालिका अत्यावश्यक सहयोगको पखाईमा छन्।

 यो वर्ष बाढी किन भयानक?

पाकिस्तानले यो शताब्दीकै खराब बाढीको सामना गरिरहेको छ। नदीका बाँध फुटेका छन् भने भीषण वर्षाले भलबाढी आएको छ। हिमताल फुट्दा बाढी थप विनाशकारी बनेको बताइएको छ।

नेचरमा प्रकाशित भएको एक लेखका अनुसार वैज्ञानिकहरुले बाढीका लागि विभिन्न तत्व कारक रहेको बताएका छन्। विपदको सुरुवात अप्रिल र मेमा अनुभव गरिएको हिटवेभ (तातो हावा) देखि नै सुरु भएको अनुसन्धानकर्ताले आँकलन गरेका छन्। तातो हावाले बढी आद्रता राख्न सक्ने हुँदा मौसमविदले यो वर्षको बर्खा (जुलाईदेखि सेप्टेम्बरसम्म) औसतभन्दा बढी पानी पर्ने बताएका थिए।

सोहीअनुसार वर्षा अत्यधिक मात्रामा भएको छ। हालसम्म औषत वार्षिक वर्षाभन्दा तीन गुणा बढी पानी परिसकेको छ। दक्षिणी प्रान्त सिन्ध र बलुचिस्तानमा पाँच गुणाभन्दा बढी वर्षा भएको तथ्यांक छ।

पाकिस्तानमा यो वर्षको बाढीका कारण हजारौँ किलोमिटर सडक बगाएको छ। खेतीबालीसँगै भौतिक पूर्वाधारमा क्षति भएको छ। तस्बिर : एएफपी

अत्यधिक तापक्रमले उत्तरी क्षेत्रमा रहेका हिमनदी पग्लिए। पानीको बहाब बढ्यो र त्यो पानी इन्दुस नदीमा मिसियो। पाकिस्तानको ठूलो नदी इन्दुस देशको उत्तरदेखि दक्षिणसम्म बग्छ। तर यो वर्ष कति पानी हिमनदी पग्लिएर थपियो भन्ने यकिन नरहेको नेचरले जनाएको छ।

योसँगै हाल जारी रहेको ला निन्ना मौसमी प्रणालीका कारण पनि बढी वर्षा भएको हो। यो वर्षको अन्त्यसम्म यो मौसमी प्रणाली जारी रहने देखिएको हुँदा थप वर्षा हुन सक्ने मौसमविदले बताएका छन्।

मानवीय कारण भएको विश्वव्यापी तापमान वृद्धिले पनि आरीघोप्टे वर्षालाई सघन बनाएको हुन सक्ने वैज्ञानिकको भनाइ छ। तापक्रम बढ्दै जाँदा त्यसले भारी वर्षालाई सहयोग गर्ने ‘क्लाइमेट मोडल’ ले देखाएको छ। सन् १९८६ देखि २०१५ सम्मको तथ्यांकअनुसार पाकिस्तानमा हरेक दशकमा ०.३ डिग्री सेल्सियसले बढेको देखिन्छ, जुन विश्वव्यापी औषतभन्दा बढी हो।

यी सबै मौसमी तथा जलवायुजन्य कारणसँगै कमजोर पूर्वसूचना प्रणाली तथा राहत-उद्धारको व्यवस्थापन नहुँदा बाढी र त्यसले निम्त्याएको क्षति बढी भएको उल्लेख छ। बाढीका कारण मानवीयसँगै खाद्य सुरक्षामा गम्भीर प्रभाव परेको र त्यसको असर लामो समयसम्म देखिने चेतावनी दिइएको छ।

कृषि क्षेत्रमा भएको नोक्सानी र खाद्य सुरक्षा

जलवायु परिवर्तनका कारण थप विनाशकारी बनेको बाढीका कारण कृषि क्षेत्रमा पुगेको क्षतिले पाकिस्तानको खाद्य सुरक्षा तथा कृषिमा आधारित अर्थतन्त्रलाई गम्भीर रूपमा प्रभावित गरेको छ। यसको यकिन आँकलन पूर्णरूपमा हुन सकेको छैन।

तर, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले हालैको बाढीले सिन्ध प्रान्तमा भएको कृषिजन्य क्षति सम्बन्धीले अध्ययनले औसत आँकडा दिएको छ। इसिमोडले स्याटेलाइट तस्बिरको विश्लेषणबाट गरेको अध्ययनअनुसार सिन्ध प्रान्तमा बाढीका कारण प्रमुख तीन बाली- धान, कपास र उखुमा एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको क्षति भएको छ।

इसिमोडका रिमोट सेन्सिङ स्पेसलिस्ट फैसल मुइन कमरको नेतृत्वमा भएको अध्ययनमा अगस्ट २२ देखि २८ सम्मको स्याटेलाइट तस्बिरको विश्लेषण गरिएको हो। सिन्ध प्रान्तको कूल भूभागमध्ये १८ प्रतिशतभन्दा बढी क्षेत्र डुबानमा परेको थियो।

सिन्ध प्रान्त धान, कपास तथा उखु खेतीका लागि प्रख्यात छ। राष्ट्रिय उत्पादनको ४२ प्रतिशत धान, २३ प्रतिशत कपास र ३१ प्रतिशत उखु सिन्धमा उत्पादन हुने गरेको छ। ‘यो वर्षको बाढीले पाकिस्तानमा कृषिबाली, पशुपालन तथा भण्डारण भवनसहितका पूर्वाधारमा गम्भीर क्षति गरेको छ। यसले गर्दा पाकिस्तानको खाद्य सुरक्षामा गम्भीर चुनौती सिर्जना गरेको छ’, इसिमोडको अध्ययन प्रतिवेदनमा भनिएको छ।

सिन्ध प्रान्तको ४.९ मिलियन हेक्टर कुल खेतीयोग्य जमिनमा बर्खायामका मुख्य बाली- धान, कपास र उखु हुन्। बाढीले सिन्धमा उत्पादन हुने आँकलन गरिएकोमध्ये करिब ८० प्रतिशत अर्थात् १९ लाख टन धान, ६१ प्रतिशत अर्थात् एक करोड ५० लाख टन उखु तथा ८८ प्रतिशत अर्थात् ३१ लाख टन कपासको उत्पादनमा क्षति पुगेको आँकलन अध्ययनले गरेको छ।

सिन्ध प्रान्तको लर्काना जिल्लामा बाढी प्रभावितका लागि बनाइएको अस्थायी आवास। तस्बिर : एपी

आर्थिक रूपमा हेरिँदा सिन्ध प्रान्तमा धानमा ५४३ मिलियन अमेरिकी डलर, कपासमा ४८५ मिलियन अमेरिकी डलर तथा उखुमा २७३ मिलियन अमेरिकी डलर बराबरको क्षति भएको देखिन्छ। यस्तै, प्रमुख तीन तरकारी बाली (गोलभेँडा, प्याज र खुर्सानी) मा बाढीका कारण ३७४ मिलियन अमेरिकी डलर र पशुमा भएको क्षति १३ मिलियन अमेरिकी डलर बराबरको रहेको छ।

तीव्र गतिमा गरिएको अध्ययनको क्रममा सिन्ध प्रान्तमा बाढीका कारण कृषि क्षेत्रका अरू पक्षमा भएका क्षतिको आँकलन नगरिएको इसिमोडको प्रतिवेदनमा उल्लेख छ। अर्थात् कृषि पूर्वाधार तथा उपकरणमा भएको क्षति तथा कृषि सेवामा आएको अवरोधको गणना गरिएको छैन। यसले गर्दा बाढीले समग्र कृषि क्षेत्रमा पारेको प्रभाव अत्यधिक हुन सक्ने उल्लेख छ।

पाकिस्तानको राष्ट्रिय अर्थतन्त्रमा २५ प्रतिशत हिस्सा रहेको सिन्ध प्रान्तको प्रान्तीय अर्थन्त्रमा कृषिको भूमिका १७ प्रतिशत रहेको छ। यसको अर्थ हाल बाढीले कृषिमा गरेको क्षतिको प्रत्यक्ष प्रभाव राष्ट्रिय अर्थतन्त्र र पाकिस्तानको समग्र खाद्य सुरक्षामा पर्ने देखिन्छ।

यस्तै, सिन्ध प्रान्तमा मात्रै बाढीका कारण कृषि क्षेत्रमा यति ठूलो मात्रा भएको क्षतिले अरू बाढी प्रभावित क्षेत्रमा पनि सोही अनुसार हानी भएको आँकलन गर्न सकिन्छ।

पाकिस्तानको बाढी र नेपालकाे सिकाइ

भौगोलिक अवस्था र जलवायुजन्य जोखिमका हिसाबले पाकिस्तानसँग नेपालका धेरै समानता रहेको विज्ञले बताएका छन्। यस्तै, विपद पूर्वतयारी, पूर्वसूचना प्रणाली तथा विपदपछिको उद्धारको अवस्था पनि लगभग उस्तै रहेकाले हाल पाकिस्तानमा गएको बाढी र त्यसले गरेको क्षतिलाई सिकाइ मानेर नेपालले आउँदा सम्भावित विपदका लागि तयारी गर्न सक्ने उनीहरुको भनाइ छ।

‘जुनै प्रकारका विपद आउँदा सम्बन्धित देशको नीतिगत व्यवस्था र अर्थतन्त्रको क्षमता महत्त्वपूर्ण हुन्छ’, जलवायु परिवर्तन तथा जलवायुवित्त विज्ञ मधुकर उपाध्यायले भने, ‘पाकिस्तानमा गएको बाढीमा भीषण वर्षासँगै हिमनदी पग्लिनुलाई कारक मानिएको छ। नेपालमा पनि भीषण वर्षा हुने तथा हिमनदी पग्लिने जोखिम छ। हामीले पछिल्लो केही वर्षमा भोगेका बाढीका घटनाले पनि त्यसलाई पुष्टि गरेको छ।’

उनका अनुसार पाकिस्तानको घटनालाई उदहारणका रूपमा लिएर पूर्वसूचना तथा पूर्वतयारीसहित सम्भावित विपद्को अवस्थासँग जुध्‍नका लागि आवश्यक नीतिगत तथा संरचनागत तयारी गर्न सकिन्छ।

जलवायु परिवर्तन र त्यसको प्रभाव एवम् अनुकूलन प्रयासमा विगत लामो समयदेखि अध्ययन गर्दै आएका अजय दीक्षितका अनुसार स्थलगत रूपमा अनुगमन नगरी पाकिस्तानमा गएको बाढी र त्यसको विस्तारित प्रभावका सम्बन्धमा यकिन रूपमा भन्न सकिँदैन। तर, हालको बाढीले पानीको व्यवस्थापनका सम्बन्धी प्रचलित मान्यतामाथि गम्भीर प्रश्न उठेको भने देखिने उनले बताए।

‘सापेक्ष विज्ञानलाई स्थापित गर्नुपर्छ। जलवायु परिवर्तनको भूमिका कति थियो भन्ने यकिन गरेर अन्तरसम्बन्ध स्थापित गर्नु पर्छ’, दीक्षितले भने, ‘विशेषगरी सिन्ध र बलुचिस्तानलाई आधार मानेर विश्लेषण गरिनु पर्छ।’

पाकिस्तानमा जस्तै नेपालसहित दक्षिण एसियाका प्रायः सबै देशमा ‘शक्ति छेउछाउ’ का चासोहरू उस्तै खालको रहेकाले समानता पाइने उनकाे भनाइ छ। विपदपछि तात्कालिक उद्धारसँगै अबको खाँचो भनेको पानीसँग जोडिएको नयाँ ज्ञान र त्यसको शिक्षालाई नयाँ तरिकाले सिकेर त्यसलाई रूपान्तरण गरिनुपर्नेमा उनले जोड दिएका छन्।

‘प्राकृतिक, सामाजिक र स्थानीय परम्परागत विज्ञानको संश्लेषण गरिनु पर्छ। त्यसका लागि ज्ञान उत्पादनका थलोहरूमा लगानी र चासो बढ्नु पर्छ’, दीक्षितले भने।

भदौ २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्