चोलेन्द्रको बयानप्रति गम्भीर आपत्ति छ– पूर्वन्यायाधीशहरू

टोपबहादुर सिंह।

काठमाडौँ– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा आफूहरूलाई पनि मुछेकोप्रति पूर्वन्यायाधीशहरूले गम्भीर आपत्ति जनाएका छन्।

राणाले महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा पूर्व न्यायाधीशहरूलाई पनि मुछेकोमा पूर्वन्यायाधीश फोरमले बुधबार पत्रकार सम्मेलन गरेर खेद प्रकट गरेको छ।

राणाको उक्त बयान अमर्यादित भएको फोरमको निष्कर्ष छ।

फोरमका अध्यक्ष टोपबहादुर सिंहले निलम्बित प्रधानन्यायाधीश राणाको बयानले समग्र पूर्वन्यायाधीशको मर्यादामा भ्रम फैलिएको भन्दै खेद प्रकट गरेका हुन्।

आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा राणाले सर्वोच्चका बहालवाला र पूर्वन्यायाधीश, बार एसोसिएसनका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ताहरूलाई पनि मुछेका थिए।

राणाले बयानका दिने क्रममा मुछेका व्यक्तिलाई समितिले छलफलको लागि बोलाउने निर्णय गरेलगत्तै पूर्वन्यायाधीश फोरमले पत्रकार सम्मेलन गरेको हो।

पूर्वन्यायाधीशहरूले निलम्बित राणाको महाअभियोग प्रकरण संसदको कार्यावधि सकिन लागेको अवस्थामा टुंगोमा नपुग्ने हो कि भन्ने चिन्ता पनि व्यक्त गरेका छन्। राणाको मुद्दा सदनमा प्रस्तुत भएका अन्य विधेयकजस्तो निष्क्रिय हुन नहुनेमा फोरमको जोड छ।

संसदको कार्यकाल सकिएपनि यो न्यायिक समिति गठन गरेर वा चुनावपछिको संसदले यसलाई निष्कर्षमा पुर्‍याउन सकिने फोरमले सुझाव दिएको छ। राणाले अवकाश प्राप्त गरे पनि उनको सफाइ वा सजाय दिलाएर कानुन बलियो भएको प्रमाणित गर्नुपर्नेमा फोरमले ध्यानाकर्षण गराएको छ। संसदको कार्यकाल आगामी असोज १ गतेसम्म मात्रै भएकोले छोटो अवधिमा हतारमा निर्णय नलिन फोरमले भनेको छ।

भदौ २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्