पिएसजीको जितमा मेसीको कीर्तिमान

युरोपियन च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेइन (पिएसजी)ले बुधबार राति भएको खेलमा इजरायली क्लब मकाबी हैफालाई ३-१ ले पराजित गर्‍याे।

समूह ‘एच’ मा लगातार दोस्रो जित निकाल्ने क्रममा पिएसजीका लागि मेसी, नेयमार र एमबाप्पेले गोल गरेका थिए।

खेलमा अग्रता भने हैफाले तारोन चेरीको गोलमार्फत् २४ औँ मिनेटमा लिएको थियो। तर, पिएसजीले पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल रह्याे।

पिएसजीका लागि मेसीले ३७ औँ मिनेटमा पहिलो गोल गर्दा मेसीकै पासमा ६९ औँ मिनेटमा एमबाप्पेले अग्रता बना‍एका थिए।

८८ औँ मिनेटमा नेयमारले गाेल गर्दै पिएसजीलाई ३-० ले जिताए।

पिएसजीको सहज जितमा मेसीले भने कीर्तिमान बनाउन सफल रहे। च्याम्पियन्स लिगमा मेसीले बुधबार पिएसजीको लागि एक गोल गरेसँगै च्याम्पियन्स लिगमा सर्वाधिक धेरै क्लबविरुद्ध गोल गर्ने कीर्तिमान बनाए।

मेसीले च्याम्पियन्स लिगमा फरक ३९ क्लबविरुद्ध गोल गर्दै सर्वाधिक विपक्षीविरुद् गोलको कीर्तिमान बनाएका हुन्।

यसअघि रोनाल्डो र मेसीले समान ३८ क्लबविरुद्ध गोल गरेको कीर्तिमान रहेको थियो।

त्यस्तै, मेसीले च्याम्पियन्स लिगमा लगातार १८ औँ सिजनमा गोल गर्ने एक्लो खेलाडी समेत बने।

उनले सन् २००५-०६ मा बार्सिलोनाको लागि च्याम्पियन्स लिगमा पहिलो गोल गरेयता निरन्तर गोल गर्दै आएका छन्।

मेसीले च्याम्पियन्स लिगमा १ सय २६ गोल गरेका छन्। सर्वाधिक गोलको कीर्तिमान भने रोनाल्डोको नाममा रहेको छ। रोनाल्डोले १ सय ४० गोल गरेका छन्।

भदौ ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्