सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीमा मोबाइलको टावर निर्माण भई सञ्चालनमा आएको छ। नेपाल टेलिकमको मोबाइल टावर निर्माण पूरा हुँदा मोबाइल सेवा सञ्चालनमा आएपछि लिमीवासी सञ्चारको पहुँचमा आएका हुन्।

नेपाल टेलिकमको मोबाइल सेवा लिमीका तीन गाउँमा सुचारु भएको छ। मोबाइल सेवा सञ्चालनमा आएपछि लिमीबासी पूर्णरुपमा सञ्चारको पहुँचमा आएका छन्। यसबाट लिमीवासीको मोबाइलमा कुुरा गर्ने सपना बल्ल पूरा भएको छ।

यसअघि लिमीमा सञ्चार माध्याम भनेको टेलिकमकै एक लाइन भिस्याट ल्यान्डलाइन टेलिफोन सेवा थियो। दिउँसो घाम लागेको समय मात्र टेलिफोन सेवा सुचारु हुन्थ्यो। यसअघि लिमीका स्थानीयले हातमा भएको मोबाइलले गीत संगीत सुुन्न र फिल्म हेर्न प्रयोग गर्ने गरेकामा अब भने एक आपसमा कुराकानी गर्न पाएका छन्।

मोबाइल सेवा सञ्चालन आएको पहिलो दिन स्थानीयका मोबाइल निकै व्यस्त थिए। वर्षौंदेखि मोबाइलमा कुराकानी गर्ने चाहना पूरा भएपछि स्थानीयले खुसीयाली मनाएका छन्। अब लिमीका तीन वटै गाउँ, तील, हल्जी र जाङ्ग गाउँमा मोबाइल सेवा सुचारु भएको छ।

गाउँपालिकाका अध्यक्ष प्रेम लामाले निकै प्रयासका बाबजुद लिमीमा टावर निर्माण पूरा भएर मोबाइल सेवा सञ्चालनमा आएको बताए।

लिमीमा टावर निर्माणका लागि पाँच वर्षअगाडि निर्माण कम्पनीसँग टेलिकमले सम्झौता गरेको थियो। तीन वर्षदेखि टावर निर्माणका सामान लिमी पुुगेका थिए।

गत वर्ष घर निर्माण कार्य, सोलार प्यानल र ब्याट्री जडान भएको थियो। तर, टावर पुरानो र बिग्रिएको परेपछि उक्त वर्ष सेवा सुुचारु हुन सकेको थिएन।

यस वर्ष टावरको नयाँ छाता र प्राविधिक लिमी पुुगेर जडान गरेपछि सेवा सुचारु भएको हो।
लिमीमा मोबाइल टावर चाँडो निर्माणका लागि कर्मचारी र तत्कालीन जनप्रतिनिधि काठमाडौंसम्म डेलिगेसन गएका थिए।

लिमीमा हाल सञ्चालनमा आएको नेपाल टेलिकमको टुु जी मोबाइल सेवा हो। यसअघि नारा लेकमा टेलिकमले टावर निर्माण गरेर यारी क्षेत्रमा मोबाइल सेवा सञ्चालनमा आएको थियो।

भदौ ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्