साढे पाँच दशक पुरानो गीत बन्यो नेपथ्यको ताजा प्रस्तुति

काठमाडाैँ- कुनै समय संगीतको माध्यमबाट चेतनाको जागरण फैलाउँदै हिँडेका कवि मञ्जुलले आफ्ना लेखनीमा पूर्वी नेपालको डाँडापाखाका प्रेममय भाकाहरू पनि उतारेका थिए।

यसै क्रममा २०२४ सालको एउटा कविता संग्रहमा प्रकाशित उनको गीतलाई नेपथ्य ब्याण्डले आजैबाट आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको छ।

मञ्जुलको ‘साइँली मोरीलाई’ पुस्तकमा संगृहित त्यस रचनाले भन्छ:

‘लेकैको लालीगुराँस, काली काली केशलाई
साइँली मोरीलाई
पाखैको चिसो बतास, डाली डाली फूललाई
साइँली मोरीलाई’

यो शब्द रचना गर्दा मञ्जुल १९ वर्षका थिए। त्यसको निकैपछि मात्र यसले पुस्तकाकारमा सार्वजनिक हुने मौका पायो। त्यही शब्दलाई नेपथ्य ब्याण्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङले आफ्नै स्वादमा पस्केपछि अब यो ब्याण्डकै ताजा गीत बन्नपुगेको छ।

‘धेरै पहिले यसलाई कविता संग्रहमा पढेको थिएँ’, अमृत भन्छन्, ‘त्यो पुस्तकमा पनि विशेष गरेर यो रचना चाहिँ बारम्बार पढेकाले कण्ठस्थै थियो।’

यसरी आनन्द लिएको शब्दलाई गीतम ढाल्ने काम भने पछिल्लो समय मात्रै गरिएको हो।

‘मञ्जुल-रामेश दाइहरूले गरेको पदयात्रामा आधारित गीतीयात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’का डोब पछ्याउँदै करिब एक दशकअघि म पनि पैदलै पूर्वतर्फ लागेको थिएँ’, उनी थप्छन्, ‘ओखलढुँगाको गोरेटोमा हिँड्दाहिँड्दै एउटा दृश्यले मलाइ यस्तरी रोमाञ्चित बनाइदियो जसले फेरि त्यस पुरानो कविताको सम्झना भयो।’

अमृतका अनुसार त्यस दिन उनी कोषभञ्ज्याङ नाघेर कटुन्जेतर्फ ओह्रालो लाग्दै थिए। त्यतिबेलै बाटोमा भर्खर बिहे गरेर आएको एउटा जोडी भेटिए। हिँड्दाहिँड्दै त्यो जोडी केहीछिनको निम्ति अमृतको सहयात्री बन्न पुगेछन्। उनले त्यस जोडीको तस्बिर खिच्न खोजे। तस्बिर खिचाउँदै गर्दा हौसिएका बेहुलाले अचानक श्रीमतीको कुममा हात राखे। बेहुली पहिरनमा रंगिएकी नवविवाहिताको अनुहार त्यसबखत राताम्मे बन्न पुगेको थियो।

‘त्यो दृश्यले मलाई यस्तरी झक्झक्यायो’, अमृत भन्छन्, ‘मैले कता-कता वर्षाैँ पहिले पढेको मञ्जुल दाइको साइँली मोरी कविता दृश्यमा देखेजस्तो लाग्यो।’

त्यसपछि पनि अमृतको पैदलयात्रा निरन्तर अघि बढ्दै गयो।

‘ती जोडीलाई भेटेको दुई-तीन दिनमै म दिक्तेलतर्फ उकालो लाग्दै थिएँ’, उनी भन्छन्, ‘त्यतिबेलै लालीगुराँसले राताम्मे डाँडामा बसेर मैले मञ्जुल दाइका पुराना शब्दहरूलाई संगीतबद्ध पारेको हुँ।’

गीतको अर्को अन्तरा अलिक बेग्लै सुनिन्छ:

‘कलकले पानीको छलछले छाँगा
छाँगाले पारेको चिसो सियाल
साइँली मोरीलाई’

अमृतका अनुसार त्यो अन्तरालाई पनि त्यसै यात्राका दौरान खोटाङको निर्मली भञ्ज्याङबाट भोजपुरको चखेवातर्फ उक्लँदै गर्दा बाटोमा पर्ने झरना देखेपछि संगीतवद्ध गरिएको थियो।

अमृतले संखुवासभा पुग्दा तयार पारेको यो गीत एकपटक कन्सर्टमा पनि प्रस्तुत भइसकेको छ। केही महिनाअघि मात्र नयाँवर्षको दिन दमकमा आयोजित नेपथ्यको कन्सर्टमा यसलाई ब्याण्डले गाएर सुनाएको थियो।

भदौ ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्