डेंगी बढ्दै जाँदा सिटामोल अभाव

काठमाडौँ– डेंगी ज्वरोका बिरामी बढ्दै गर्दा बजारमा सिटामोलको माग उच्च रहेको छ। सिटामोलको माग उच्च भएसँगै बजारमा सिटामोलको अभाव बढ्न थालेको छ।

बजारमा सिटामोलको ‘सर्टेज’ भएको यो पहिलो पटक भने होइन। योभन्दा अगाडि कोराना भाइरसको तेस्रो लहरका बेला बिरामीले सिटामोल नपाएर बजार तातेको थियो। र, त्योभन्दा अगाडि पनि कयौँ पटक सिटामोलको अभावको सामना बजारले खेपिसकेको छ।

सामान्य अवस्थामा भन्दा ज्वरो आउने लक्षण भएका संक्रमण फैलिँदै गर्दा सिटामोलको अभाव हुने गरेको पाइन्छ।

अहिले डेंगीका कारण सिटामोलको खपत धेरै हुन थालेपछि बजारमा अभाव देखिन थालेको बताउँछन्, औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजङ्ग पाण्डे।

उनी भन्छन्, ‘अहिले सिटामोल बन्ने क्रममै छ। अब बिस्तारै यो समस्या कम भएर जान्छ। हामीले सिटामोल ‘सर्टेज’को समस्यालाई समाधान गर्ने कोशिस गरिरहेका छौँ। बिचमा कोभिड पनि थिएन र डेँगी पनि थिएन। महामारी आएपछि उनीहरु सबैले सिटामोलको प्रयोग गर्न थालेपछि यसको खपत धेरै भएको हो।’

सामान्य अवस्थामा सिटामोलको उत्पादन कम हुने भएका कारण बेला–बेलामा यसको ‘सर्टेज’ हुने गरेको अध्यक्ष पाण्डेले बताए।

उनले भने, ‘डिमाण्ड हाई भयो, प्रोडक्सन कम भयो। सिटामोलको डिमाण्ड अरु बेलामा हाई हुँदैन। यस्तै बेलामा चाहिने औषधि हो यो। क्षणिक डिमाण्ड बढ्छ, त्यही डिमाण्ड अनुसार औषधि उत्पादन गरिन्छ। र, डिमाण्ड कम हुने बित्तिकै उत्पादन पनि घट्दै जान्छ।’

सिटामोल अन्य अवस्थामा धेरे नचाहिने प्रोडक्ट भएको उनले बताए।

उनले भने, ‘सिटामोल अन्य अवस्थामा धेरे चाहिने प्रोडक्ट पनि होइन। त्यसैले त्यति धेरै उत्पादन हुँदैन, अन्य बेलामा।’

त्यस्तै सिटामोलको अभाव नहोस् भन्न आफूहरुले सक्दो गरिरहेको नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहलले बताए।

‘नेपाल औषधि लिमिटेडले आफ्नो गर्नुपर्ने दायित्व गरिरहेको छ। औषधिको अभाव नहोस् भन्ने हामी पनि चाहन्छौँ। सरकारी संस्था हो। सरकारको भन्दा पनि पब्लिकको दायित्व छ हामीलाई’, उनले भने, ‘हामीले उत्पादन गर्न सक्ने उत्पादन गरिरहेका छौँ। हाम्रो तर्फबाट कमी हुन दिएका छैनौँ। हाम्रो क्षमता र आर्थिक अवस्थाले भ्याएसम्म काम गरिरहेका छौँ। क्षमता भन्दा पनि हामीलाई आर्थिक समस्या भइरहेको छ।’

कम्पनी घाटामा भएका कारण आफ्नो क्षमताले गर्न सक्ने काम समेत गर्न नसकिरहेको महाप्रबन्धक मोहम्मद बताउँछन्।

उनी भन्छन्, ‘हामी घाटामा छौँ। यो घाटालाई पूर्ति गर्ने कुनै बाटो देखिएको छैन। हामीले दुई सिफ्ट गरेर सिटामोलको उत्पादन बढाउन सक्छौँ। तर दुई सिफ्ट गर्ने बित्तिकै ओभर टाइमको कस्टका कारण अझै घाटामा जाने हुन्छ। अहिले नर्मल सिफ्टमा चलिरहेको छ।’

लिमिटेडले एक व्याचमा ३ लाख २० हजार चक्की उत्पादन गर्दै आइरहेको महाप्रवन्धक मोहम्मदले बताए।

के भन्छ, मन्त्रालय?

बजारमा सिटामोलको अभाव भएको भनिए जस्तो अवस्था भइनसकेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

उनले भने, ‘अहिले डेंगी ज्वरोका कारण सिटामोलको माग धैरै भइरहेको छ। तर माग बढ्ने बित्तिकै त्यसको परिपूर्ति नै गर्न नसकिने भन्ने स्थिति आइसकेको छैन। तर सामान्य अवस्था भन्दा धेरै माग भएको अवस्था छ। त्यसले गर्दा बजारमा अलि बढी दबाब सिर्जना हुन स्वभाविक कुरा हो।’

त्यसैगरी अहिले बजारमा सिटामोलको साँच्चै नै अभाव भएको हो वा गराइएको हो, यसका लागि अनुगमन गर्न थालिएको उनले बताए।

उनले भने, ‘मन्त्रालयले विभिन्न कुराहरुमा अनुगमन चलिरहेको हुन्छ। धेरै गुनासो आउन थालेपछि अझ बढी अनुगमन गर्छ नै। त्यसलाई लिएर हामीले अनुगमन बढाउनलाई अरु थप अनुसन्धान गर्नलाई काम अगाडि बढाइसकेका छौँ।’

सिटामोलको अभाव हुदै गर्दा आवश्यकताभन्दा बढी सिटामोल खरिद गर्न डा. अधिकारीले सबैलाई आग्रह गरेका छन्।

उनले भने, ‘सिटामोलको आवश्यकता हुने बित्तिकै औषधि किनेर घरमा जम्मा गरेर राख्ने गरिन्छ। यो पछिल्लो कोभिडका बेलामा पनि देखिएको थियो। जसले गर्दा स्थिति अलि गाह्रो नै भएको थियो। त्यसो नगरिदिनु हुन सबैलाई अनुरोध छ।’

डेंगी ज्वरो किन सिटामोल नै?

ज्वरो आउने, जिउ दुख्नेबित्तिकै एन्टिबायोटिकको प्रयोग नगर्न चिकित्सकहरुले बारम्बार सुझाब दिँदै आइरहेका छन्।

दुखाइ कम गराउने ब्रुफेन, निमेसुलाइड तथा एस्पिरिन जातका औषधीको प्रयोग गर्नु घातक हुने उनीहरु बताउँदै आएका छन्। यस्तो औषधिको प्रयोग बिरामीलाई रक्तश्राव हुने सम्भावना हुने भएका कारण एन्टिबायोटिकको प्रयोग गर्नै नहुने डा. शेरबहादुर पुन बताउँछन्।

उनले भने,‘ज्वरो आएका डेंगीको आशंका गरिएका बिरामीले पारासिटामोलको सेवन गरेर प्रशस्त पानी पिएर आराम गर्नु पर्छ।’

बेला–बेलामा किन हुन्छ, सिटामोलको अभाव?

ज्वरो आउने खालका लक्षण भएका संक्रमण फैलिदै गर्दा सिटामोलको माग बढी हुने गर्छ। यस्तो संक्रमण फैलिएका बेला अन्य सामान्य अवस्थामा भन्दा सिटामोलको माग बढी हुने हुँदा औषधिको खपत धेरै हुने गर्छ। नियमित वा समान्य रुपमा भइरहेको उत्पादनले पुग्दैन। र, केही समयका लागि औषधिको अभाव देखिन सक्छ।

डेंगीका संक्रमित कति?

इपिडिमियोलोजी तथा रोज नियन्त्रण महाशाखाकाको भदौ २९ गतेसम्मको तथ्याङ्क अनुसार देशभर १३ हजार ७ जनामा डेंगी ज्वरोको संक्रमण पुष्टि भएको छ।

महाशाखाका अनुसार सबै भन्दा धेरै डेंगी ज्वरोका केस बागमती प्रदेशमा देखिएका छन्। र, बागमती प्रदेशपछि लुम्बिनी प्रदेश दोस्रो नम्बरमा रहेको छ।

भदौ २९ गतेको तथ्याङ्क अनुसार बागमती प्रदेशमा ९ हजार ९७१ जनामा र लुम्बिनी प्रदेशमा १ हजार ५१० जनामा डेंगी ज्वरोको संक्रमण पुष्टि भएको छ।

हालसम्म डेंगी ज्वरोका कारण १३ जनाले ज्यान गुमाइसकेको तथ्याङ्कमा उल्लेख गरिएको छ।

त्यस्तै सबै भन्दा धेरै केश पुष्टि भएको बागमती प्रदेशको ललितपुर र काठमाडौँमा संक्रमण धेरै देखिएको छ। तथ्याङ्क अनुसार ललितपुरमा ४ हजार ९८ र काठमाडौँमा ३ हजार ५२ गरी दुई जिल्लामा मात्रै ७ हजार १५० जनामा डेंगी ज्वरोको संक्रमण पुष्टि भइसकेको छ।

 

भदौ ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्