लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा

दाङ – लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा भएको छ। पूर्ण खोप समन्वय समितिले प्रदेशका १२ जिल्लामा ६६ हजार ४ सय ६४ बालबालिकालाई खोप लगाइएको विवरण सार्वजनिक गर्दै पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरेको हो।

१६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई खोप लगाइएको सुनिश्चित गरेर प्रदेशलाई पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा गरिएको छ।

लक्ष्यअनुसार बालबालिकालाई पूर्ण खोप लगाइएपछि शुक्रबार राप्ती गाउँपालिकामा औपचारिक कार्यक्रम आयोजना गरेर पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा गरिएको छ।

यसरी पूर्णखोप घोषणा गर्ने लुम्बिनी प्रदेश दोस्रो हो। यसअघि गण्डकी प्रदेशले पूर्णखोप सुनिश्चितता घोषण गरिसकेको छ।

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शुक्रबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता भएको घोषणा गरे।

अहिले ११ वटा रोगविरुद्ध बालबालिकालाई खोप दिइँदै आएको छ। हालसम्म नेपालमा ६७ जिल्ला पूर्णखोप घोषणा भइसकेका छन्।

भदौ ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्