शैव संस्कृतिअन्तर्गतको सामाजिक प्रणाली साम्यवादी थियो

प्रस्तावना: यो लेख मेरो निष्कर्ष हैन। यहाँ लिखित विचारहरू विभिन्न खोज, अनुसन्धान, कथनी आदिबाट उत्प्रेरित छन्। कसैको आस्थामाथि आघात पुर्‍याउने यस लेखको उद्देश्य हैन, यदि कथंकदाचित त्यसो भएमा संयोग मात्र हुनेछ।

मूलतः धर्म, संस्कृति र सभ्यताबीच केही फरकहरू छन्। सभ्यताले सामाजिक प्रणालीको परिभाषा गर्छ, जसअन्तर्गत रहेर संस्कार निर्माण हुन्छ। संस्कार भन्नाले काम गर्ने उच्चतम तरिकालाई भनिन्छ। त्यही कर्म गर्ने प्रक्रिया संस्कृतिको रूपमा विकास हुन्छ। त्यो कर्म जुन प्राकृतिक न्यायसम्मत हुन्छ अथवा जो–जसलाई जे गुण प्राप्त भएको छ, सोही गुणअनुसार कर्म गर्नुलाई नै धर्म भनिन्छ। वैदिक दर्शनले पनि शास्त्रसम्मत गरिने कर्मलाई धर्मको रूपमा व्याख्या गरेको छ। जुन धर्मले ब्रह्मलाई अनुसरण गरेको छ, ब्रह्म भन्नाले सबैभन्दा ठूलो सत्य।

यसरी हेर्दा, वैदिक कालसम्म हाम्रो समाज सभ्य, सुसंस्कृत अनि धार्मिक रहेको बुझ्न सकिन्छ। अहिलेको राजनीतिक–आधुनिक शब्द प्रयोग गरेर भन्दा – साम्यवाद वा साम्यवादी समाजको झल्को त्यस कालखण्ड रहेको अनुमान गर्न सकिन्छ। जुनबेला न कुनै राज्य थियो, न कसैलाई भेदभाव थियो, न दण्ड प्रणाली थियो, न सामन्त थिए, न कोही निमुखा थिए। यसको तात्पर्य, सम्पूर्ण जगत समतामूलक सामाजिक व्यवस्थामा अधीन थियो। हाम्रा सम्पूर्ण सभ्यता, संस्कृति र धर्म प्रकृति पूजक छन्, प्रकृतिमा आस्था भएको, बहुलवादी रहेको छ जसले सूर्य, वायु, जल, प्रकृति, जंगल, माटो (पृथ्वी), चन्द्रमा, ग्रहहरू आदिलाई पूजा गर्ने, आस्था राख्ने गरेको थियो र छ। तथापि, पौराणिक कालपश्चात् भने अवतारवादलाई पालन गरेको बुझ्न सकिन्छ। जसअन्तर्गत, भगवानका विभिन्न अवतार छन् भन्ने विश्वास गर्ने, व्यक्तिमा भएका गुणअनुसार भगवानको अवतार दिने चलन रहेको देखिन्छ।

हाम्रो पूर्वीय सभ्यतामा मात्र हैन, पश्चिमा सभ्यता वा अरु सबै सभ्यतामा पनि अवतारवाद हाबी भएको देखिन्छ। जस्तै, श्रीराम, श्रीकृष्ण, बुद्ध, हनुमान, यशु, मोहम्मद आदि। अनुमान गर्दा, यो अवतारवादको अन्तर्य आ–आफ्नो सम्प्रदाय खडा गरेर कसको धर्म ठूलो भन्ने प्रतिस्पर्धाबाहेक अरु केही हैन।

स्पष्टसाथ भन्नुपर्दा, हाम्रो वैदिक – सनातन धर्मले मूलतः शैव संस्कृति र शक्ति संस्कृति र पौराणिक कालमा वैष्णव संस्कृति अनुसरण गरेको पाइन्छ। वैदिक – सनातन धर्मभित्रका यी प्रमुख ३ संस्कृतिका केही फरक विशेषता छन्।

शैव संकृतिले शिव, शक्ति संस्कृतिले देवी अर्थात् स्त्री शक्ति र वैष्णव संस्कृतिले विष्णुको पूजा गर्ने वा केन्द्रमा राख्ने गरेको छ।

पौराणिक कालसम्म पनि जन्मको आधारमा मान्छेको जात हुने कुरा छैन। मानिसको गुण र कर्मको आधारमा वर्ण विभाजन भएको छ। ततपश्चात् भने धर्मको गलत व्याख्या गरेर, कुत्सित राजनीतिक चिन्तनद्वारा समाजमा भेदभाव, छुवाछुत, जातीय भावना, असमानता आदि हावी भएको बुझिन्छ।

शैव संस्कृति के हो?

शैव संस्कृति भन्नाले शिवको पूजा गर्ने, अनुसरण गर्ने भन्ने बुझिन्छ। र, यो अरुभन्दा सनातन, विशिष्ट अनि सर्वोच्च रहेको बुझ्न सकिन्छ। यसभित्र पनि विभिन्न ४ सम्प्रदाय विद्यमान छन्। पाशुपत, कालामुख, कापलिक र लिंगायत। इतिहासमा शैव संस्कृति संसारभर अनुसरण भएका तथ्यहरू भेटिन्छन्। शिवलिंग अर्थात् शिवको प्रतीक संसारका विभिन्न देश वा स्थानबाट उत्खनन भएका छन्। भ्याटिकन सिटी, मेसोपोटामिया, मक्का– मदिना, रुस, कम्बोडिया, थाइल्यान्ड आदि ठाउँ यसका उदाहरण हुन्। यस तथ्यलाई आधार मान्ने हो भने के शिव वा शैव संस्कृति संसारका प्राचीन पेगान सभ्यता, स्लाव सभ्यता, माया सभ्यता, इनका सभ्यता आदिमा पनि अनुसरण गरिएको थियो ? किनकि यी सबै सभ्यतामा समानता छ जसमा बहुलवाद अनुसरण गरिएको छ जसमा प्रकृतिको पूजा गरिन्थ्यो।

शैव संस्कृतिअन्तर्गतको सामाजिक प्रणाली साम्यवादी थियो, स्त्री – पुरुषलाई समान दर्जा थियो अर्थात् शैव संस्कृति भनेकै पुरुष र प्रकृतिको सम रूप थियो। उदाहरणका लागि, हामीले देखेका हरेक आकृतिमा शिव र पार्वतीलाई समान हैसियतमा चित्रण गरिएको छ। उनीहरू समान स्थानमा बसेका हुन्छन् जसको अर्थ भेदभावरहित समतामूलक अवस्था दर्शाउनु हो। शिवलाई अर्ध नारेश्वर पनि भनिन्छ जसको अर्थ आधा नारी र आधा पुरुषको विम्ब हो।

हाम्रा हरेक सभ्यताजस्तै किराँत, बोन आदिमा पनि शिवलाई प्रमुख शक्ति वा देवताका रूपमा स्थान दिइएको छ। सारांशमा शैव संस्कृति प्राचीन–वैदिक कालदेखि अनुसरण हुदै आएको र यो समतामूलक, भेदभाव रहित, सुसंस्कृत एवं समृद्ध रहेको पुष्टि हुन्छ।

शिवको व्याख्या

शिव, हिन्दू धर्मको त्रिभुज (तीनवटा प्रमुख देवता ब्रह्मा, विष्णु र महेश) मध्यका सर्वोच्च देवता हुन्। शिवलाई विनाशको देवता पनि भनिन्छ। तर, एक प्रसंगमा शिवको व्याख्या गर्ने क्रममा सद्गुरुले शिवको अर्थ ‘जो अस्तित्वमा छैन वा जो छैन’ हो भनेका छन्। अर्को शब्दमा शिव गैरशारीरिक वा अ–भौतिक भनेका छन्। जसको कुनै सीमा छैन, अनन्त छ।
भौतिक भन्नाले जुन चिज, जसलाई हाम्रा पाँच इन्द्रीयले महसुस गर्न सक्छन्।

यस अतिरिक्त, आदियोगीलाई पनि शिव भन्ने गरिएको छ, किनकि जसले बुझेको छ जुन छैन र त्यो नै परम सत्य हो। उनका अनुसार यस परम सत्य बुझ्ने जो पनि शिव हुन सक्ने उनको मत छ।

शिवलाई ‘यक्ष्य स्वरूप’ पनि भनिएको छ जसको अर्थ हुन्छ तीन प्रकारका प्राणीहरू जो मानव होइनन्। त्यसो भए के शिव भनेको मानव बुद्धि ( चेतना) को सर्वोत्तम उपयोगको स्थिति वा परम सत्य हो? यदि हैन भने, के शिव अलौकिक थिए ? जो छुट्टै ग्रह, पिण्ड वा लोकबाट आएर मानव बुद्धि (चेतना), विवेक र चिन्तनको प्रवर्द्धक बने?

के शिव अलौकिक (एलिएन) हुन्?

अहिलेको आधुनिक (अंग्रेजी) भाषामा भन्दा के शिव अजनबी (एलिएन) थिए? जो अन्तै ग्रहबाट आए, जो यहाँ रहेका जीव वा मानवभन्दा क्षमतावान, विवेकशील, चिन्तनशील र शक्तिशाली थिए? अथवा त्यस बेलासम्म पृथ्वीमा मानवको विकास भएकै थिएन तर अन्यत्र यस ब्रह्माण्डको कुनै अर्को दिशामा निकै प्रखर जाति (मानवजाति) को सभ्यता थियो। किनकि वर्तमान विज्ञानले अहिले पनि सम्पूर्ण ब्रह्माण्डको १० प्रतिशत भाग पनि अन्वेषण गरिनसकेको तथ्य हो। यस १० प्रतिशत भागलाई अवलोकनीय ब्रह्माण्ड भनिन्छ जसमा सयौं अरब आकाशगंगा रहेको अनुमान मात्र गरिएको छ।

पृथ्वी, त्यस अर्बौँ आकाशगंगामा क्षीरमार्ग आकाशगंगा (मिल्कि वे ग्यालेक्सी) मा अवस्थित छ, जसमा विभिन्न ग्रह पनि छन् जसको केन्द्र सूर्यमण्डल रहेको छ।

अर्कोतर्फ, अहिलेको मानिसको चिन्तनले एलिएन भनेको डरलाग्दो हुन्छ, मानवलाई हानि गर्छ आदि रूपमा चित्रण गरेको छ। जुन संकुचित मानव चेतनाको उपज हो, सोच हो। अहिलेसम्म, हाम्रो मानव चेतनाले चन्द्रमा र मंगल ग्रहमा आफ्नो खोज तथा अनुसन्धान गरिरहेको छ। त्यहाँ कुनै मानव समाजको सम्भावना छ वा थियो भन्ने विषयमा खोज केन्द्रिकृत गरेको छ जुन यो अनन्त ब्रह्माण्डमा निकै सानो स्थान हो।

एउटा कल्पना गरौँ, यदि पृथ्वीका मानव जाति मंगलग्रहमा निर्वाध रूपमा पुग्न सफल भए अनि त्यहाँको जीव वा मानव जाति हामीभन्दा कम शक्तिशाली अनि तुलनात्मक रूपमा हामीभन्दा थोरै चेतनशील छन्। यस्तो अवस्थामा हाम्रो चेतनाको प्रभाव उनीहरूमा पर्छ कि पर्दैन ?

भगवान् वा देवता भन्ने शब्द त त्यो चेतना झल्काउने एउटा विशेषण अथवा नाम हुन सक्दैन र ? वा त्यहाँको चेतना अनि सभ्यताअनुसार अरू कुनै उपनाम पाउन सक्दैनन् र?

कुनै एक प्रसंगमा सद्गुरुलाई, ‘के शिव एलिएन थिए ?’ भन्ने प्रश्नमा उनले सम्पूर्ण रूपमा होइन भनेका छैनन् बरु ५ प्रतिशत हुन सक्छ तर ९५ प्रतिशतचाहिँ हामीले हाम्रो मानव चेतनामा विश्वास गर्नुपर्ने मत राखेका छन्। साथै, उनले लगभग ५० देखि ७० हजार वर्षपहिले मानव जातिले अचानक आफ्नो चेतनालाई परिस्कृत गरेको भनेका छन्। त्यस बेलासम्म, मानव पनि अरु जीवसरह बचिरहेको तर १०–१५ हजार वर्षको अन्तरालमै के भयो जसले मानव जातिलाई अरु जीवभन्दा चेतनशील र परिस्कृत गर्‍यो? एउटा जीवको विकास वा विकासक्रमका लागि यो समय निकै कम रहेको मानिन्छ। यौगिक दृष्टिकोणमा त्यो बेला (लगभग ६०–६५ हजार वर्ष पहिले) शिव (मानसरोवर) आएको र सम्पूर्ण जगतमा मानव चेतना र सभ्यता प्रवर्द्धन गरेको बुझाइ छ।

धर्मशास्त्रअनुसार शिव सधैँ गणहरूको वरिपरि हुने गर्थे अर्थात् गणहरू नै शिवका परम मित्र थिए तथापि शिवका अनुयायीहरू थिए, श्रीमती थिइन्, प्रशंसकहरू थिए। गणहरू (नन्दी, भृंंगी, वीरभद्र, चन्देश्वर आदि), जसलाई पुराणमा विकृत प्राणीका रूपमा व्याख्या गरिएको छ।

उनीहरूको अंगहरू (हात–खुट्टा ) मा हाड हुँदैनथ्यो र ती अंग शरीरका अनेक भागबाट उत्पत्ति हुन्थ्यो। के यी गण त्यतिबेलाका मानव जाति वा मानवमा विकसित हुने क्रमका जीव थिए?

अझ, शिवलाई विशाल कद भएको, ऊर्जाशील, ध्यानापरणीय आदि व्यक्तित्वले व्याख्या गरिएको छ। शिव लगभग ९ फिट अग्लो रहेको जिकिर गरिएको छ। शिव गणहरूको वृत्तमा हुने र शल्य ज्ञानको प्रयोग भएको कुराको पुष्टि, उनका पुत्र गणेशको शिर काटिएपश्चात् उनले आफ्नै साथीमध्येको गणको शिर काटेर गणेशको टाउको जोडेको घटनाले गर्छ।

 

त्यसैले गणेशलाई ‘गणपति’ भनियो तर मानिसले त्यो हात्तीको टाउको भएको सम्झिएका छन्। त्यो हात्तीको टाउको र सुँड नभई गणको टाउको र अंग हो जुन हाडरहित थियो। यदि हात्तीको टाउको हुन्थ्यो भने उनलाई ‘गजपति’ भनिन्थ्यो होला किनकि गजको अर्थ हात्ती हो। तर, उनी गजपति हैन, गणपति हुन्। पछि शिवले गणेशलाई गणहरूको अगुवा बनाएको विश्वास छ। तसर्थ उनी गणपति भए, मतलव गणहरूको अगुवा।

यसबाहेक, शिवको कोही पनि जैविक सन्तान छैनन्। उनलाई हरेक पुराण, वेद वा कथाहरूमा जहिले पनि वयस्क वा एकै उमेरमा चित्रण गरिएको छ। यसको मतलव के शिव कुनै एक निश्चित समयका लागि आएर फर्किए वा के शिव भनेको कुनै छुट्टै विशिष्ट मानव जाति वा जीव प्रकार हो ? जसको विभिन्न कालखण्डमा जाने–आउने क्रम थियो र जारी छ?

शिव मात्र हैन, हामीले मानेका अरु देवी–देवताहरूको पनि आउने जाने क्रम भएको बुझ्न सकिन्छ। उदाहरणका लागि, त्रेता युगमा पनि जब हनुमानले लंकामा आगो लगाएर सखाप हुन्छ, त्यसबखत पनि रावणले विश्वकर्मालाई बोलाएर (अर्कै लोकबाट) केही दिनमै लंकाको पुनर्निर्माण गराएका थिए। जो त्यस कालका अत्यन्त प्रखर अभियन्ता (इञ्जिनियर) जसको कला– कौशल, सीप र ज्ञान पृथ्वीमा बस्ने प्राणीको भन्दा अधिक र परम भएको हुन सक्छ।

 

अब एउटा प्रश्न आउन सक्छ, यदि हाम्रा सबै देवी–देवता बाहिरी दुनियाँबाट आएका हुन् अथवा बाहिरी दुनियाँमा स्थित छन् भने अहिलेको युगमा किन देखा परेनन्? किनकि अरु युग सत्य युग, त्रेता युग अनि द्वापर युगमा यी परम ज्ञानीहरूको देवी –देवतासँग संवाद भएको, भेट भएको आदि घटना वर्णन गरिएका छन्।

सायद कुनै कालखण्डमा उनीहरूसँग हुने संवादको मार्ग टुट्यो कि? नष्ट भयो कि? तत्पश्चात वर्तमान मानव चेतनाले त्यो टुटेको मार्ग जोड्न सकेको छैन वा प्रयासरत छ।

यस कथनलाई थप पुष्टि गर्नका लागि, महाभारतमा धृतराष्ट्रले सञ्जयलाई अन्तरिक्ष (चन्द्रमा) बाट पृथ्वी कस्तो देखिन्छ भनी सोधेपछि सञ्जयले भनेका थिए, ‘हे कुरूनन्दन ! सुदर्शन नामको यो द्वीप चक्रजस्तै गोलाकार छ। मानिसले ऐनामा अनुहार हेरेझैँ, यो द्वीप चन्द्र मण्डलबाट छर्लंग देखिन्छ। यसको दुई अंशमा पिपलको पात र अर्को दुई अंशमा खरायो (पिपलको पात खाँदै गरेको खरायो) जस्तै देखिन्छ। अर्थात्, यो चित्र महर्षि वेदव्यासले कोर्दा, मानव जातिको पहुँच अन्तरिक्षमा छँदै थियो तर कसरी पछि यो तार टुट्यो ? विश्वका वैज्ञानिक भर्खर चन्द्रमा र मंगल ग्रहमा अन्वेषण गर्दै छन् र अझै पूर्ण सफलता पाएका छैनन्।

 

अहिले वर्तमानमा पनि कहिलेकाहीँ एलिएन देखियो अथवा केही अलौकिक सामग्री फेला पर्‍यो भन्ने सूचना आउँछ। यदि, यो सत्य हो भने पनि, अहिलेका ती एलिएन भनिने पर– जातिलाई हामीले नकारात्मक विम्बमा चित्रण गरेका छौँ।
तसर्थ हाम्रो उनीहरूसँग संवाद हुन सकेको छैन वा हाम्रो मानव चेतनाले त्यो संवाद गर्ने सामर्थ्य राख्दैन।

यदि शिव एलिएन हैनन् भने, के शिव पनि यसै लोकका, हामीले भगवान्को अवतार मानेका श्रीकृष्ण, श्रीराम, बुद्ध आदि जस्तै परम ज्ञानी, परम वीर थिए ? वा यक्ष्य स्वरूपमा छन्, अर्थात् तीन प्रकार जो मानव होइनन् तर प्राकृतिक वातावरणमा अस्तित्वमा रहेको मानिन्छ।

वैदिक दर्शनको त्रिभुजमा ब्रह्मा, विष्णु र महेश( शिव) लाई सर्वोच्च मानिन्छ। ब्रह्माको अर्थ रचयिता, विष्णुको अर्थ पालनकर्ता (संरक्षक) र शिव अर्थात् विनाश भनेर बुझिन्छ।

शिवको प्रतीक शिवलिंग जसले यस ब्रह्माण्डको सम्पूर्ण शक्ति (ऊर्जा) को प्रतिनिधित्व गरेको छ। शिवसँग सम्बन्धित कुनै पनि उत्पत्ति वा भौतिक आवरणको वर्णन छैन। शिवलिंगलाई वर्णन गर्दा तल्लो भाग ब्रह्मा, मध्य भाग विष्णु र माथिल्लो भाग शिव भनेर व्याख्या गरिन्छ। शिवलिंगको दीर्घवृत्ताकारको अर्थ ब्रह्माण्ड जसको न कुनै सुरुवात छ न कुनै अन्त्य।

यस अलावा, ब्रह्माण्डमा रहेका सबै भौतिक पदार्थ परमाणुबाट बनेका हुन्छन् जसमा प्रोटोन, न्युट्रन र इलेक्ट्रन समावेश हुन्छ जुन शक्ति (ऊर्जा) को प्रारूप हुन्।

प्राचीनकालमा प्रोटोन, न्युट्रन र इलेक्ट्रन थिएन तसर्थ परम ज्ञानीहरूले लिंगम, विष्णु र ब्रह्मा शब्द प्रयोग गरेर परमाणुको व्याख्या गरेका छन्।

त्यसैले, प्रकृतिको सबैभन्दा सानो रूपलाई दर्शाउन, प्राचीन ऋषिले शिवलिंगको प्रयोग गरेको बुझ्न सकिन्छ।

शिवलिंग त्यही परमाणु संरचनाको वर्णन गर्न प्रयोग भएको हुन सक्छ। परमाणु संरचनामा प्रोटोन र न्युट्रनलाई इलेक्ट्रनले (प्राणु र नाभीकणलाई नाभिकबाह्ले) घेरेको हुन्छ। धन आवेश अर्थात् सकारात्मक विद्युतीय गुण (चार्ज) भएको विष्णु अर्थात् प्रोटोन, उदासीन अर्थात् विद्युतीय गुण (चार्ज) विहीन शिव अर्थात् न्युट्रन र ऋण आवेश अर्थात् नकारात्मक विद्युतीय गुण (चार्ज) भएको ब्रह्मा अर्थात् इलेक्ट्रन। यी तिनै तत्वको समिश्रणले शक्ति (ऊर्जा) निर्माण हुन्छ।

यदि, हामीले विष्णुको आकृति हेर्‍यौँ भने त्यहाँ ब्रह्मालाई विष्णुको नाभीकमल मानिएको छ र ब्रह्मालाई कमलको फूलमा विराजमान भएको देख्छौँ जसको अर्थ इलेकट्रन (ब्रह्मा) को प्रोटोन ( विष्णु) प्रति आकर्षित हुने र घेर्ने प्रकृति उजागर हुन्छ। किनकि यी दुईको विपरीत विद्युतीय गुण (चार्ज) हुन्छ। त्यस्तै न्युट्रन (शिव)लाई केन्द्रीय परमाणु मानिएको छ। तसर्थ शास्त्रअनुसार शिवलाई भंग वा अलग गरेन भने शान्त रहन्छ। शिव शान्त रहँदा शक्ति (ऊर्जा) ले रेणुकाको रूप धारण गर्छ।

रेणुका अर्थात् परमाणु संयोजन गर्ने क्षमता जसले रेणु उत्पादन गर्छ। रेणु अर्थात् अणु (अंग्रेजीमा मोलेकुल)। दुई परमाणुबाट अणुको उत्पत्ति हुन्छ। तसर्थ वैदिक दर्शनमा शिवलाई शक्तिसँग समायोजन गरिएको छ। त्यसैले शक्तिलाई शिवको अर्धांगिनी, जीवनको हिस्साको रूपमा चित्रण गरिएको छ। र, सधैँ शिवको साथमा राखिएको छ। जब–जब शक्तिलाई शिव (नाभीकण)बाट अलग गरिन्छ तब महाविपत्ति घटित हुन्छ जसको अर्थ शक्ति आतंकमा बदली हुनु हो। यसलाई वैदिक दर्शनमा महाकाली, रुद्रायणीको रूपमा चित्रित गरिएको छ।

हाम्रो वैदिक सभ्यतामा यसको व्याख्या शिव – शक्तिको अवधारणाले गर्छ। त्यस्तै, अरु सभ्यतामा अरु कुनै नाम हुन सक्छ। जस्तैः ताओ सभ्यतामा यिन – यांगले दर्शाउने गरेको छ।

 

यसका विभिन्न भाषिक बोध छन्, नारी र पुरुष, नकारात्मक र सकारात्मक आदि। यी सबै हामीमा र हाम्रो वरिपरि हुने ऊर्जाको वर्णन हो। जस्तैः सूर्यमण्डल पनि त्यही परमाणु संरचनाको विराट रूप हुन सक्छ जसमा सूर्य नाभीकण अनि ग्रह र चन्द्रमाहरू प्राणु र नाभीकबाह् नहोलान् भन्न सकिन्न।

तर, माथिका सबै दलिल मेरो निष्कर्ष भने हैन। यी सबै चिज छर्लंग हुन मानव चेतना सर्वश्रेष्ठ अवस्थामा हुन अनिवार्य छ। यो अज्ञानताबाट मात्र सम्भव छ किनकि हाम्रो अज्ञानता असीम छ। हामीले अज्ञानता स्वीकार गर्दा, हाम्रो चेतना परम हुन्छ। किनकि हामी पहिल्यै निष्कर्ष वा सीमित ज्ञानको स्थितिमा रह्यौँ भने मानव चेतना परम हुन सक्दैन। तसर्थ, निष्कर्षमा हैन चेतना वृद्धिको प्रक्रिया र मार्गमा समर्पित हुन अत्यावश्यक छ।

असोज २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्