जनताकाे जीविकाेपार्जन सहज बनाउन आर्थिक क्रान्ति आवश्यक: नेता सिंह

फाइल तस्बिर।

काठमाडाैँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको जीविकोपार्जनलाई सहज गर्नका लागि आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन्।

आइतबार नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २५ औँ पुण्यतिथिको अवसरमा गणेशमान सिंह फाउण्डेसनले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले जनताको जीविकोपार्जनलाई सहज गराउन आर्थिक क्रान्ति आवश्यक रहेको बताएका हुन्।

उनले संविधान अनुरूप प्रदेश र स्थानीय तहको अधिकार सम्बन्धित तहलाई दिलाएर आवश्यक कानुनहरू समयमै बनाउनुपर्ने बताए।

प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै आर्थिक क्रान्ति गर्नुपर्ने उनको भनाइ छ।

नेता सिंहले शिक्षालाई सीपसँग जोडेर आधारभूत शिक्षा सक्नासाथ सक्षम नागरिक बनाउनुपर्नेमा जाेड दिए।

नेता सिंहले भने, ‘प्राप्त गरेका अधिकारहरूलाई सुरक्षित राख्दै, संस्थागत गर्दै आम नेपाली जनताको जीविकोपार्जन सहज गर्नको लागि आर्थिक क्रान्ति आवश्यक छ। शिक्षा पुरानो ढर्राले दिएर मात्रै पुग्दैन। र १२ कक्षा पास हुँदाखेरि नै सीप सिकेर आफ्नो आगामी भविष्य अगाडि बढाउनको लागि सक्षम नागरिकको रूपमा विकसित गर्न सक्नुपर्छ। स्वास्थ्य सुलभ, सहज तवरले प्राप्त हुनुपर्‍याे। त्यो गर्नका लागि स्थानीय तहहरूलाई मजबुत गरेर देशभरका वडाहरूमा वडा क्लिनिक स्थापना गरेर प्रारम्भिक जाँच गर्न ल्याब क्लिनिकमा हुनेगरी र रोग नलाग्ने वातावरण तयार गर्नको लागि सरकारले अगाडि बढाउँछ। बेरोजगारलाई रोजगारमा परिणत गर्नको लागि हरेक निर्वाचन क्षेत्रमा सरकारले तालिम केन्द्र स्थापना गर्नुपर्‍याे। सबैलाई चाहिने सीप सिकाउने तालिम केन्द्र खोल्नुपर्‍याे।’

उनले गणेशमान सिंहले प्रधानमन्त्रीको कुर्सीसमेत त्यागेको उल्लेख गर्दै नेता गणेशमान सिंहबाट समाज परिवर्तनका लागि कतिसम्म त्याग गर्नुपर्छ भन्ने कुराको अनुकरण गर्नुपर्ने पनि बताए।

 

 

असोज २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्