नेपालमा कोभिड प्यान्डेमिकको एक झलक

कोरोना संक्रमण नियन्त्रित छ तर …

पछिल्लो अवस्थामा विश्वमा कोरोना संक्रमण क्रमशः घट्दै गएको छ र यसको प्यान्डेमिक पनि नियन्त्रण उन्मुख देखिन्छ। हाल विश्वमा समग्रमा करिब ३५००००–५५०००० दैनिक कोरोना संक्रमण र करिब ८००–१७०० दैनिक कोरोना मृत्यु देखा परिरहेको छ।

डब्लुएचओको तथ्यांकअनुसार कोरोना प्यान्डेमिक सुरु भएयता हालसम्म सबैभन्दा अत्यधिक दैनिक संक्रमण ४०००००० भन्दा धेरै र दैनिक मृत्यु २०००० भन्दा धेरै भएको थियो। त्यस अर्थमा हालको संक्रमण र मृत्यु निकै न्यून मान्नुपर्छ।

त्यस्तै, कोरोना भ्याक्सिनको कुरा गर्दा विश्वको दुई तिहाइभन्दा धेरैले कम्तीमा कोरोना भ्याक्सिनको एक मात्रा पाइसकेका छन्। तर यो अनुपात विकसित देशमा भने एक चौथाइ जति मात्रै छ। नेपालमा १२ वर्षभन्दा माथिका जनसंख्यामध्ये ९९% भन्दा धेरैले एक मात्रा र ९५% भन्दा धेरैले दुई मात्रा खोप लगाइसकेका छन्।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन्।

जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वर्ल्डमिटर, आवर वर्ल्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण केही घट्दै गएको देखिन्छ।

दक्षिण एसियाको पछिल्लो पाँच हप्ता, सन् २०२२ अगस्ट १० देखि सेप्टेम्बर १४ (३६ दिन), कोकोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १ मा देखाइएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमण क्रमशः घट्दै गएको छ।

दक्षिण एसियामा गत हप्ता दैनिक संक्रमण औसतमा करिब ६२०० जति देखिएको छ जुन अघिल्लो हप्ता करिब ७५०० जति थियो। पछिल्लो समय दक्षिण एसियाका अधिकांश देशमा दैनिक कोरोना संक्रमण घट्दै गएको छ।

त्यस्तै, दक्षिण एसियामा पछिल्लो समय दैनिक मृत्यु पनि क्रमशः घट्दै गएको छ। दक्षिण एसियाको दैनिक कुल कोरोना मृत्यु गत हप्ता औसतमा करिब ३० रह्यो जुन अघिल्लो हप्ता करिब ३७ थियो।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ सेप्टेम्बर ११ देखि १७ (वि.सं २०७९ भदौ २६ देखि आश्विन १)जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न.२मा प्रस्तुत गरिएको छ।

यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, आश्विन १ गते शनिबारसम्म, देशभरि जम्मा ५६२ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९९९२१६ पुगेको छ। अघिल्लो साता साप्ताहिक कुल संक्रमण ९०२ थियो।

यसरी नेपालमा जुलाई मध्यदेखि बढ्दै गएको कोरोना संक्रमण अगस्ट पहिलो सातातिर उच्च बिन्दुमा पुगी हाल निकै शान्त भएको छ। डेढ महिनादेखि नेपालमा कोरोना संक्रमण क्रमशः घट्दै गएको छ।

त्यसैगरी, नेपालमा कोरोना मृत्यु पनि क्रमशः घट्दै गएको छ। गत हप्ता साताभरिको कोरोना मृत्यु ४ पुगेको छ जुन दुई हप्ताअघि ५थियो। हालसम्मको देशको जम्मा कोरोना मृत्यु १२०१६ पुगेको छ।

गत हप्ता जम्मा १२४४७ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि ११६३४ थियो। गत हप्ता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकामा ५०.४३% संक्रमण देखियो जुन दुई हप्ताअघि ४६.६५% थियो। पछिल्लो समय चितवनमा कोरोना संक्रमण अत्यधिक देखिने गरेको छ।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी) दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न.३ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर र नयाँ संक्रमण प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम २.२२%देखि अधिकतम६.६९%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर४.५२%रह्यो जुन दुई हप्ताअघि७.८५%थियो। नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएको प्रवृत्ति देखिएको छ।

संक्षेपमा, पछिल्लो समय विश्व र दक्षिण एसियाको समग्र दैनिक कोरोना संक्रमणमा केही हप्तादेखि कमी देखिँदै आएको छ। दैनिक कोरोना मृत्युको प्रवृत्ति पनि पछिल्लो समय घट्दै गएको देखिन्छ।

नेपालमा पनि गत हप्ता, वि.सं २०७९ भाद्र २६ देखि आश्विन १, साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दरमा केही कमी आएको देखिन्छ।

गत हप्ता, माथि उल्लेख गरिएजस्तै, साप्ताहिक कुल कोरोना संक्रमण संख्या घटेको छ भने साप्ताहिक औसत संक्रमण दरमा पनि कमी आएको छ।

त्यस्तै, साप्ताहिक कोरोना मृत्यु पनि घटेको छ। यसरी नेपालको पछिल्लो कोरोना लहर, जुन पहिलाको दाँजोमा निकै सानो रह्यो, को बेला एकै दिन, श्रावण १६ गते अधिकतम ६३२ जना सम्म देखिएको कोरोना संक्रमण पछिल्लो समय ३५ मा झरेको छ भने संक्रमण दर पनि श्रावण २२ गते २२.११% सम्म पुगेकोमा हाल २.२२% मा झरेको छ।

स्मरण रहोस्, डब्लुएचओका अनुसार दैनिक संक्रमण दर ५% भन्दा कम हुनु प्यान्डेमिक नियन्त्रित हुनुको लक्षण हो।
प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ।

तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ। तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ।

हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। यसमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ।

प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक विरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

असोज २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्