राणाका सरकारी गाडी र सेनासहितका सुरक्षाकर्मी फिर्ता लगियो

तस्बिर: बर्षा शाह

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निवासबाट सबै सरकारी सुविधाका गाडी र उनको सुरक्षाका लागि राखिएका सुरक्षाकर्मीहरु हटाइएको छ।

यद्यपि उनको निगरानीका लागि बाक्लो संख्यामा सुरक्षाकर्मीहरु निवासबाहिर तैनाथ छन्।

उनको सुरक्षाका लागि खटिएका सेना र अन्य सुरक्षाकर्मीहरुलाई हटाइएको स्रोतले पुष्टि गरेको छ।

‘सवारी साधनहरु पनि फिर्ता लगिएको छ,’ स्रोतले भन्यो।

आइतबार सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर राणालाई निवासबाट निस्कन रोक लगाइएको थियो।

राणा सर्वाेच्च फर्कने तयारी गरेपछि उनलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरू अदालत परिसरमा धर्ना दिएका थिए भने बाक्लो रूपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो।

शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको संसदको कार्यकाल नै सकिएपछि राणाले आइतबार सर्वाेच्च अदालत आउने बताएका थिए।

राणाविरुद्ध १ फागुन २०७८ मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।

महाभियोगबारे प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको थियो। समितिको बहुमतले राणाविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिवेदन बुझाएको थियो। यद्यपि संसद्को कार्यकाल सकिएकाले प्रतिवेदन कार्यान्वयनमा जाने अवस्था नरहेको हो।

असोज २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्