नेपाल बंगलादेश महिला साफ फाइनल: ‘उपविजेता’ छवि तोड्ने अवसर

नेपाली राष्ट्रिय महिला टिम। तस्बिर:बर्षा शाह/देशसञ्चार।

काठमाडाैँ – महिला साफ च्याम्पियनसिप ४ फाइनल अनि सबैमा पराजय, नेपाली राष्ट्रिय महिला टिमको साफ महिला च्याम्पियनसिपको यो तितो विगत हो। तर अब पाँचौ पटक ‘उपविजेता’ को सदाबहार छविलाई तोड्ने अवसर सोमबार साँझ दशरथ रंगशालामा जुर्ने छ। जहाँ पुरानो र निरन्तरको फाइनल प्रतिद्वन्द्वी भारत नेपालविरुद्धकाे फाइनलमा छैन। यद्यपि, परिस्कृत बंगलादेश नेपाली टिमका लागि तगारो बन्ने जोखिम भने नकार्न सकिँदैन।

तर नेपाली टिमको एउटा डरको जित भइसकेको छ। सेमिफाइनलमा भारतलाई हराएपछि आत्मविश्वास बढेको छ। डेंगीका कारण सन्नाटा छाएको नेपाली खेमामा खुसी फर्किएको छ। त्यसैले यो फाइनलमा नेपाली महिला टिम कम्तीमा नयाँ विपक्षीविरुद्ध ढुक्कले प्रदर्शन गर्नेछ। किनकी अब मानसिक रुपमा भारतलाई हराउन नसकेको विगतको ‘मानसिक फ्याक्टर’को अन्त्य भएको छ।

बंगलादेशको बलियो फर्म

प्रतियोगिताभरीको प्रदर्शनमा बंगलादेश कहीपनि चुकेको छैन। उसले कुनैपनि विपक्षीविरुद्ध गोल खाएको छैन। उल्टो फाइनलसम्मको यात्रामा पुग्दा बंगलादेशले विपक्षीको पोस्टमा २० गोल पुर्याएको छ। अनि सर्वाधिक गोलकर्ता, सर्वाधिक अनुभवी कप्तान तथा ६ पटकनै साफ खेल्ने सविना खातुनको नाममा छ। उनले ८ गोल गरिसकेकी छिन्। प्रशिक्षक गोलाम रब्बानि अहिले बंगलादेश टिम बंगलादेशी महिला फुटबल इतिहासकै स्वर्णिम समयमा रहेको मान्छन्।

त्यसैले त उनी ढुक्क छन् फाइनलमा घरेलु दर्शकको चिचाहट चिर्ने कुरामा। समूहचरणका सबै विपक्षीविरुद्ध रवाफिलो प्रदर्शन गरेको बंगलादेशले भारतलाई ३-० ले हराएको थियो। त्यसैले भारतलाई पहिलो पटक पराजित गर्ने पहिलो टिम बनेको खुसीको आत्माविश्वास बंगलादेशी महिला टोलीमा छ। त्यसैले रब्बानी भन्छन् ‘दर्शक स्वभाविक रुपमा ठूलो फ्याक्टर हुन्। तर हामिले धेरै पटक दर्शकबीच प्रतिस्पर्धा गरेको अनुभव छ। त्यसैले यसलाई हामी जित्नै नसक्ने कारण मान्न सक्दैनौँ।’

दर्शकको उर्जा र नेपालको ट्रफी सपना

घरेलु मैदानमा नेपालका लागि सर्वाधिक ठूलो ‘फ्याक्टर’ भनेको घरेलु समर्थक हुन्। भारतविरुद्धकाे जुन उर्जा दर्शकमा थियो। त्यो फाइनलमा नहुने कुरै हुन्न। फाइनलभन्दा एकदिन अघिनै ‘भिआइपी प्यारापिट’को टिकट ‘सोल्डआउट’ भइसकेको छ। यसबाट पनि नेपाली टिमलाई जिताउन आज दर्शकको अभुतपूर्व उपस्थिति सहजै अनुमान गर्न सकिन्छ। त्यसैले बंगलादेशका लागि सबैभन्दा ठूलो ‘हार’ फ्याक्टर बन्न सक्छन् नेपाली दर्शक तर त्यसका लागि फेरि पनि अन्तिम विकल्प मैदानमा हुने प्रदर्शननै हो।

प्रशिक्षक कुमार थापा भन्छन् ‘हाम्रा लागि दर्शकको उर्जा अभुतपुर्व छ, त्यही भएर यो पटक घरमा ट्रफी राख्छौँ।’ भारतलाई पराजित गरेर इतिहास बनाएको नेपाल पहिलो पटक च्याम्पियन बनेर अर्को कीर्तिमान बनाउने लक्ष्यमा छ। प्रशिक्षक थापा भन्छन् ‘हामीले भारतलाई हराएर एउटा इतिहास बनाएका छौँ। अब फाइनल जितेर अर्को इतिहास रच्ने छौँ।’

बंगलादेशविरुद्व बलियो विगत

नेपाली महिला टिमको बंगलादेशविरुद्धको इतिहास भने बलियो छ। तर प्रशिक्षक थापा इतिहास कसकाे के छ भन्ने कुराले अर्थ नराख्ने मान्छन्। भारतविरुद्धको खेलअघि उनले भनेका थिए ‘फुटबलमा इतिहास गौण हुन्छ। सधैँ एक टिमले मात्रै जित्ने भए फुटबल यति लोकप्रिय हुने थिएन।’ उनले भने जस्तै भयो। भारतविरुद्ध नेपालको कमजोर इतिहास गौण बन्यो।
तर बंगलादेशको इतिहास भने समग्र साफमा कमजोर थियो। तर उसले पछिल्लो संस्करणमा आफुलाई धेरैँ फरक र परिस्कृत गरेको छ। ‘हेड टु हेड’मा अपराजित रहेको नेपालविरुद्ध बंगलादेश एकै पटक धेरै कीर्तिमान रच्न मैदानमा उत्रिने छ।

बंगलादेशविरुद्ध नेपालले अहिलेसम्म कुल ८ खेल खेल्दा ६ खेलमा जित र २ खेलमा बराबरीको नतिजा निकालेको छ। नेपालले बंगलादेशविरुद्ध १४ गोल गर्दा २ गोल मात्र भएको छ।

साफमा नेपाल र बंगलादेश

महिला साफ च्याम्पियनसिपमा भने नेपालले बंगलादेशसँग अहिलेसम्म ३ भेट मात्र भएको छ। जहाँ नेपालले तीनै खेलमा क्लिन सिट राख्दै सहज जित निकालेको छ। २०१० मा बंगलादेशको कक्सबजारमा भएको साफमा घरेलु टोलीसँग नेपालले सेमिफाइनलमा खेलेको थियो। जहाँ नेपाल ३-० को जित निकाल्दै फाइनलमा पुगेको थियो।

दोस्रो साफमा दुई टिमको भेट भएन।पाकिस्तानको इस्लामाबादमा भएको तेस्रो साफमा पुन:नेपाल बंगलादेशसँग सेमिफाइनलमा प्रतिस्पर्धा गरेको थियो। जहाँ नेपालले १-० ले जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो। पछिल्लो पटक पाँचौ साफ समूहचरण नेपाल ३-० बंगलादेशलाई पराजित गरेको थियो। विराटनगरमा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल बंगलादेशमाथि नेपालले सहज जित निकालेर चौँथो पटक फाइनल यात्रा तय गरेको थियो।

असोज ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्