कात्तिकबाट बागमती नदीमा सफा पानी बग्ने, धाप परियोजनाको ९८ प्रतिशत काम फत्ते

आयोजनाका प्रमुख इन्जिनियर निश्चल छतकुली ।

काठमाडाैँ- बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कार्तिकबाट बागमती नदीमा सफा पानी बग्ने भएको छ।

काठमाडौँ उपत्यकाकै (काठमाडौँ, ललितपुर र भक्तपुर)आकर्षक बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको हो।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने बागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी असोज २९ गतेपछि बागमती नदीमा पठाउने तयारी भइरहेको छ। समुन्द्री सतहबाट दुई हजार ८० देखि ९० मिटरको उचाइमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मान्ने गरिएको छ।

साथै यो धाप नेपालमै पहिलो सिएफआरडी ड्याम पनि हो। उपत्यकाको उत्तरपश्चिम चुचुरो मुलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५ करोड रुपैयाँ हो। यो ताल आठ हेक्टर अर्थात् १५८ रोपनीमा फैलिएको छ।

सन् २०१५ देखि ड्यामको काम सुरु गरिएको थियो। यो धापमा २४ मिटर अग्लो बाँध हुने र बाँधमा वर्षा याममा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी संकलन गरिनेछ। यो क्षेत्र आफैँमा धाप क्षेत्र पनि हो। निर्माण हुँदै गरेको धाप बाँधले सुख्खायाममा प्रतिसकेण्ड ४० लिटरका दरले बागमतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ।

ढलको व्यवस्थापन प्रभावकारी हुन सके र सँगसँगै फोहोर व्यवस्थापन भएको खण्डमा त्यसले बागमतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ।

आयोजनाका प्रमुख इन्जिनियर निश्चल छतकुलीले काठमाडौँ उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको अवस्थालाई मध्यनजर गरेर धाप निर्माण गरेको बताए।

बागमतीमा पानीको बहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न स्थानमा धापहरूको निर्माण गरी स्नानयोग्य बनाउने उद्देश्यले धाप निर्माण गरेको उनकाे भनाइ छ।

उनले सुरुमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भने पनि अहिले त्योभन्दा धेरै मात्रामा जम्मा गर्न सकिने कुरा अध्ययनले देखाएको बताए।

इन्जिनियर छतकुलीले भने,‘गोकर्णेश्वर वडा नम्बर १ स्थित शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएको धाप हो। काठमाडौँ उपत्यकामा आउने मेलम्चीको पानी आइसके पनि बागमतीमा पानीको बहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न स्थानमा प्लान्टहरू बनाउनुपर्ने र प्लान्टबाट बागमतीमा पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउनका लागि ४५० लिटरजति फ्रेस वाटर मिसाउनुपर्ने जायिकाको अध्ययनले देखायो। त्यसैगरी बागमती परियोजनामा बागमती कार्ययोजनाले पनि बागमती नदीमा पानीको गुणस्तर र मात्रा बढाउनको लागि प्रमुख उद्देश्यको रूपमा बागमती कार्ययोजनाले लिएको छ। सोहीअनुरूप एसियाली विकास बैंकको आर्थिक सहयोगमा यो सुरु भयो। योभन्दा तल नागमती ड्यामको आयोजना सुरु गर्ने भनेर काम थालियो। अहिले यो परियोजनाको ९८ प्रतिशत काम सकिएको छ। यसको मुख्य ड्याम र सहायक ड्यामहरू पनि निर्माण भई पानी जम्मा गर्न सुरु गरिएको छ। २०८३.५ जतिको हारहारीमा पानीको लेभल पुगिसकेको छ। यसमा हामीले सुरुमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भनेका थियौँ। तर त्योभन्दा धेरै पानी उपलब्ध हुने अध्ययनले देखाएको छ।’

उनले धाप क्षेत्र पर्यटन प्रवर्द्धनका लागि पनि मुख्य स्थल बन्ने अध्ययनले देखाएको बताए।

जसकरण पनि पर्यटन गुरुयोजना बनाएर नै काम अघि बढाउने तयारी भइरहेको उनको भनाइ छ।

धाप ड्याममा जम्मा भएको पानी नागमतीको ड्याममा जम्मा भएपछि क्रमशः पानी छोड्दै जाँदा बागमतीमा मिसिन्छ। यो पानीबाट विद्युत निकाल्ने उद्देश्य रहेको छ भने बागमती नदीको सफाइ गर्ने अभियान पनि यसैसँग जोडिएको छ। प्रस्तावित नागमती बाँध ९० मिटर अग्लो हुनेछ र यसले ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्नेछ।

यो बाँधबाट चार मेगावाट विद्युत उत्पादन गर्न सकिनेछ भने त्यसले जलाधार क्षेत्र र उपत्यकामा जमिनमुनिको पानी पुनःभरण (रिचार्ज) गर्न ठूलो सहयोग गर्नेछ।सुन्दरीजलबाट नागमती ड्याम पुग्न पाँच किलोमिटर मात्र छ। यी दुई बाँधको आकर्षणले गोकर्णेश्वर नगपालिकाको पर्यटन व्यवसाय फस्टाउने अनुमान छ।

 

असोज ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्