हाम्रो पात्रो रेमिट र कनेक्ट आइपिएसबीच सम्झौता

काठमाडौँ- नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले कनेक्ट आइपिएससँग सम्झौता गरेको छ।

एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एप देश तथा विदेशमा निकै नै लोकप्रिय छ।

हाम्रो पात्रोभित्र रहेको रेमिट्यान्स सर्भिसको माध्यमबाट हाल अमेरिकाबाट सजिलै नेपाल पैसा पठाउने सुविधा रहेको छ। यस सेवालाई प्रभावकारी बनाउन हाम्रो पात्रोले कनेक्ट आइपिएससँग सम्झौता गरेको हो।

जसअनुसार लाभार्थीको बैंक खातामा सिधै रकम जम्मा गरिन्छ भने यसले हाम्रो पात्रो रेमिटलाई सिधै बैंक खातामा आधारित रेमिट्यान्सको लागि सहज बनाउनेछ र सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउनेछ भन्ने पूर्ण विश्वासका साथ यो सम्झौता गरिएको हो। हाम्रो पात्रो रेमिटकी निमित्त सिइओ सुदिना गौतम र एनसिएचएलका सिइओ निलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे।

हाम्रो पात्रो रेमिटकी सिइओ सुदिना गौतमले प्रयोगकर्तालाई विश्वास र समर्थनको लागि धन्यवाद दिँदै रेमिट सेवालाई अझै बढी प्रभावकारी बनाउनेमा जोड दिने बताएकी छिन्।

तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुन्थ्यो भने अब कनेक्ट आइपिएसको माध्यमबाट लाभार्थीको बैंक खातामा केही घण्टाभित्र रकम जम्मा भैसक्नेछ।

हाम्रो पात्रो रेमिट, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त रेमिटेन्स कम्पनी हो र यसले नयाँ प्रविधिहरू प्रयोग डिजिटल रेमिट्यान्सको माध्यमबाट नेपालमा अमेरिकाबाट पैसा भित्राइरहेको छ र छिट्टै नै अन्य देशमा पनि रेमिट्यान्स सुविधा सुरु गर्दैछ।

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर सार्वजनिक गरेको छ। जसअनुरूप प्रयोगकर्ताले हाम्रोपात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रुपमा रेमिटेन्स नेपाल पठाउन सक्नेछन्।

असोज ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्