दीपक विष्टलाई जनसेवाश्री, गौरिकालाई राष्ट्रद्वीप

काठमाडाैँ- संविधान दिवसका अवसरमा नेपाल सरकारले प्रदान गर्ने विभिन्न पदक र अलंकारमा खेलकुद क्षेत्रका २२ जना खेलकर्मी सम्मानित हुने भएका छन्।

सरकारले सोमबार ९ सय ९८ जना विभूषित हुनेको नाम सार्वजनिक गर्दा २२ जना खेलकर्मी परेका हुन्।

सरकारले प्रवल जनसेवाश्री पदकबाट कीर्तिमानी तेक्वान्दो खेलाडी तथा ओलम्पियन दीपक विष्टलाई सम्मानित गर्दा पौडीकी गौरिका सिंहले राष्ट्रद्वीप पदकद्वारा विभूषित गरिने जनाइएको छ।

त्यस्तै, जनसेवाश्री पदक राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्ट र कप्तान अरुणा शाहीले पाउने छन्। नेपाली भलिबल टिमले एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा लगातार दोस्रोपटक उपाधि जितेको थियो।

त्यस्तै, नेपाल ट्रायथोलन संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, नेपाल फेन्सिङ संघका महासचिव तथा ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ, खेलकुद प्रवर्तक जगतबहादुर खड्का, पाराओलिम्पियन तथा एसियन युथ पारातेक्वान्दो च्याम्पियनसिपकी स्वर्णविजेता पलेशा गोवर्द्धन, फुटबलकी प्रमुख प्रशिक्षक अरुणा गुरुङ, तेक्वान्दो खेलाडी भजिन्द्रबहादुर क्षेत्रीको पनि प्रवल जनसेवाश्रीमा नाम अटाएको छ।

त्यस्तै, अलंकारतर्फ नेपाल प्रताप भूषणबाट ओलम्पियन प्रमिला रिजाल समानित हुँदा सूकीर्ति पदकबाट ११ जना सम्मानित हुने छन्।

रेणुका श्रेष्ठ, बक्सिङका एसियन पदकधारी तथा हाल प्रशिक्षक दीपक महर्जन, नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, श्याम गुरुङ, मोतिकला गुरुङ, शिवध्वज देवान राई, रन्जित तामाङ, शुटिङकी ओलम्पियन कल्पना परियार, एथलेटिक्सकी जयरानी थारु, जीवन थारु र तिलकबहादुर देउजा सिफारिसमा परेका हुन्।

यस्तै, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सुप्रबल जनसेवाश्री पदकबाट विभूषित गरिने छ।

असोज ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्