प्रत्यक्षको आकांक्षा छाडेर आरजु समानुपातिकमा, ओनसरी प्रत्यक्ष भिड्ने

काठमाडौँ – प्रत्यक्ष चुनाव लड्ने आकांक्षा त्यागेर प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा समानुपातिक सूचीमा परेकी छिन्।

मंसिर ४ गते हुने चुनावका लागि समानुपातिक तर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगले आइतबार र सोमबार समय दिएको छ। कांग्रेस तयार पारेको समानुपातिकको सूचीमा आरजु राणासमेत परेकी छिन्।

उनी अघिल्लोपटक कैलाली ५ बाट प्रत्यक्ष चुनाव लड्दा पराजित भएकी थिइन्। यसपटक पनि प्रत्यक्ष लड्ने योजनामा रहे पनि अन्तिम समयमा आरजुको नाम समानुपातिक सूचीमा राखिएको हो। बन्द सूचीलाई औपचारिकता दिन कांग्रेस केन्द्रीय कार्य केन्द्रीय संसदीय बोर्डको बैठक बसिरहेको छ।

यसैगरी, कांग्रेसको समानुपातिक सूचीमा नेता विमलेन्द्र निधि पनि परेका छन्। धनुषा ३ मा अघिल्लोपटक राजेन्द्र महतोसँग चुनाव लडेका निधि यसपटक प्रत्यक्षको आकांक्षा नै नराखी समानुपतिकको जोखिम विहीन बाटोबाट संसद प्रवेश गर्न लागेका हुन्।

त्यस्तै, अर्का नेता गोपालमान श्रेष्ठ पनि यसपटक समानुपातिका परेका छन्। गृहजिल्ला स्याङ्जाबाट २०४८ देखि चुनाव जित्दै आएका श्रेष्ठ गत चुनावमा एमालेकी पद्मा अर्यालसँग पराजित भएका थिए। उनले पनि यसपटक सुरक्षित बाटो समोतका छन्।

कांग्रेसले सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियारलाई पनि समानुपातिकमा राख्ने तयारी गरेको छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिकबाट निर्वाचित हुनेछन्। दलहरुले बन्द सूची बुझाउँदा समावेशी सिद्धान्तका आधारमा विभिन्न क्लष्टर अनुसार नाम बुझाउनुपर्ने व्यवस्था प्रतिनिसभा निर्वाचन ऐन र प्रदेशसभा निर्वाचन ऐनले गरेको छ। साँझ ५ बजेसम्म निर्वाचन आयोग पुगेर बन्दसूची बुझाउन सकिने निर्वाचन आयोगले गरेको छ।

यसैबीच माओवादी केन्द्रबाट पूर्वसभामुख ओनसरी घर्तीको नाम समानुपातिकबाट झिकिएको छ। अहिलेसम्म समानुपातिक सूचीबाट सांसद बनेकी घर्तीले आफैँले प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेकी छिन्। माओवादीले निर्वाचन आयोगमा बुझाउन लागेको बन्द सूचीमा उनको नाम नराखिएको एक नेताले जानकारी दिए। घर्ती प्रत्यक्ष चुनाव लड्न निर्वाचन क्षेत्रको खोजीमा छिन्।

एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादीले समानुपातिबाट सांसद भइसकेकालाई नदोहो¥याउने सैद्धान्तिक निर्णय गरेका छन्। तर आरजु राणालाई कांग्रेसले २०७० चुनावमा समानुपातिकबाटै सांसद बनाएको थियो।

नाम फर्ने नपाउने

निर्वाचन आयोगले आइतबार र सोमबार लिएको समानुपातिक सूचीको नाम हेरफेर गर्न नदिने भएको छ।

समावेशी समानुपातिक सिद्धान्तअनुसार क्लष्टर अनुसार नमिलेका नामलाई हेरफेर गर्न असोज १० देखि १६ गतेसम्म समय दिने भए पनि त्यस अवधिमा नयाँ नाम पेश गर्न र सूचीको रोलक्रम हेरफेर गर्न नदिएको हो।

बुझाएको सूचीबाट नाम काट्नु परेमा नयाँ नामलाई सबैभन्दा तल राख्नुपर्ने गरी आयोगले समानुपातिक निर्वाचन सम्बन्धि निर्देशिका बनाएको छ।

असोज ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्