२२ सय बिरुवा राेपेर मनाइयाे संविधान दिवस

माेरङ- प्रदेश १ सरकारले संविधान दिवसको अवसरमा विराटनगरमा वृक्षरोपण गरेको छ।

विराटनगरको बरगाछी चौकदेखि भारतीय सीमामा पर्ने रानीसम्म प्रदेश १ आन्तरिक मामिला मन्त्रालयको आयोजनामा करिब २ हजार २ सय वटा ससाना विरुवा रोपेर संविधान दिवस मनाइएको हो।

मन्त्रालयको आयोजना भएको कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राई तथा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बिरुवा रोप्ने कामको सुरुवात गरेका थिए।

वृक्षराेपणका क्रममा मुख्यमन्त्री राईले संविधान निर्माणको छोटो अवधिमै महत्त्वपूर्ण उपलब्धी भएको बताएका छन्।

उनले संविधानको कार्यान्वयन गर्दै संविधान जोगाएर अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संघीयताले हरेक क्षेत्रमा विकासका गतिविधि चलायमान हुँदै गएको बताए।

उनले संविधानको रक्षा गर्दै जनतालाई यसको प्रत्याभूति हुने गरी काम गर्नुपर्नेमा जोड दिए।

कोशी राजमार्ग अन्तर्गत ६ लेन सडकको बीच भागमा निर्माण गरिएको मेडियन(डिभाइडर) मा सोमबार प्रदेश सरकार, विराटनगर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, निजी क्षेत्रको सहभागितामा विरुवा रोपिएको महानगरपालिकाकी वातावरण शाखा प्रमुख अनिता कोइरालाले जानकारी दिइन्।

शाखा प्रमुख कोइरालाका अनुसार वृक्षराेपणमा धुपी, कपुर, करेटेनलगायतका विरुवा रोपिएको थियाे।

आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संघीयताले विकासका गतिविधि चलायमान बनाएको दाबी गरे।

यसैबीच, प्रदेश सरकारले दिवसको मुख्य दिन सोमबार साँझ प्रदेशवासी नागरिकलाई आ-आफ्नो घर टोल र महत्त्वपूर्ण सार्वजनिक स्थलहरूको सरसफाइका साथै घरघरमा दीपावली गर्न अपिलसमेत गरेको छ।

 

असोज ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्