संविधान दिवसमा विराटनगरमा वृक्षरोपण

मोरङ – प्रदेश १ सरकारले संविधान दिवसको अवसरमा विराटनगरमा वृक्षरोपण गरेको छ।
विराटनगरको बरगाछी चौकदेखि भारतीय सीमामा पर्ने रानीसम्म प्रदेश १ आन्तरिक मामिला मन्त्रालयको आयोजनामा करिब २ हजार २ सय ५० वटा बिरुवा रोपेर संविधान दिवस मनाइएको हो।

मन्त्रालयको आयोजना भएको कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राई तथा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बिरुवा रोप्ने कामको सुरुवात गरेका थिए।

वृक्षरोपणका क्रममा मुख्यमन्त्री राईले संविधान निर्माणको छोटो अवधिमै महत्वपूर्ण उपलब्धि भएको बताए।

उनले आठ वर्षअघि घोषणा गरिएको संविधान कार्यान्वयन गर्दै संविधान जोगाएर अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले संघीयताले हरेक क्षेत्रमा विकासका गतिविधि चलायमान हुँदै गएको बताए।

उनले संविधानको रक्षा गर्दै जनतालाई यसको प्रत्याभूति हुने गरी काम गर्नुपर्नेमा जोड दिए।

मन्त्री कार्कीले प्रदेशमा आवश्यक कानुन निर्माण, विपद् व्यवस्थापन, आपराधिक गतिविधिको नियन्त्रण तथा नैतिक शिक्षाको जोडमा प्रदेश सरकार जुटेर लागेको बताए।
कोशी राजमार्गअन्तर्गत ६ लेन सडकको बीच भागमा निर्माण गरिएको मेडियन(डिभाइडर)मा सोमबार प्रदेश सरकार, विराटनगर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, निजी क्षेत्रको सहभागितामा विरुवा रोपिएको महानगरपालिकाकी वातावरण शाखा प्रमुख अनिता कोइरालाले जानकारी दिइन्।

शाखा प्रमुख कोइरालाका अनुसार वृक्षरोपणमा धुपी, कपुर, फूल, करेटेनलगायत बिरुवा रोपिएको छ।
बरगाछीदेखि रानीसम्मको करिब साढे ५ किमि सडकखण्डमा मेडियन(डिभाइडर)लाई ५ भागमा विभाजन गरिएको छ।

कुल ४७ वटा मेडियन(डिभाइड) मा प्रदेश सरकार, महानगरपालिका, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना, निजामती कर्मचारी, उद्योगी व्यवसायीले वृक्षरोपण गरेका हुन्।

संविधान दिवससँगै नगर सौन्दर्यकरण कार्यक्रमसहित वृक्षरोपण गरिएको महानगरले जनाएको छ।

वृक्षरोपण गरिएसँगै त्यसको संरक्षण र सम्वर्धनका लागि सम्बन्धित निकायसँग छलफलको क्रम जारी रहेको महानगरले जनाएको छ।

असोज ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्