जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न सकेनौँः प्रदेश प्रमुख गुरुङ

काठमाडौँ – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधान निर्माणपछिका दिनमा नेपाली जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न नसकेको बताएका छन्।

संविधान दिवस २०७९ का अवसरमा गण्डकी प्रदेश सरकार मुल समारोह समितिद्वारा पोखरामा सोमवार आयोजित विशेष कार्यक्रममा उनले तीन वटै तहको सरकारले जनताको समृद्धिको लागि काम गर्नुपर्ने बताए।

उनले बलिदानीपूर्ण संघर्षबाट राजनीतिक परिवर्तन भएको बताउँदै आम सर्वसाधारणको दैनिकीमा परिवर्तन आउनेगरी अघि बढ्नु अहिलेको आवश्यकता भएको बताए।

वर्तमान संविधानले सामन्ती, निरंकुश र केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको उल्लेख गर्दै विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा जोडेको बताए।

उनले जनताका आधारभूत हक अधिकार कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभ आमनागरिकको पहुँचमा पुर्‍याउनेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्वपूर्ण रहेको पनि बताए।

उनले भने, ‘एक सरकारदेखि अर्को सरकारबीचको समन्वय नमिल्दा जनताले सोचेअनुसार प्रगति हासिल गर्न सकेका छैनौँ। हामीले जनताको घरसम्म पुग्नेगरी काम गर्न आवश्यक छ। जनताका आधारभूत हक अधिकार कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आवद्ध गरी लोकतन्त्रका लाभहरू आम नागरिकको पहुँचमा पुर्‍याउनेतर्फ लाग्नुपर्छ। अहिलेको संविधानले विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा जोडेको छ।’

उनले संविधानले कल्पना गरेका विषय संविधान निर्माणपछिको समयमा कति कार्यान्वयन भए भन्ने समीक्षा गरेर अघि बढ्न जरुरी भएको बताए।

असोज ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्