अन्तिम घडीमा सांसद साहले दिए गठबन्धनलाई तनाव

काठमाडौँ – महाअभियोग सिफारिस समितिका सदस्य प्रमोद साह शनिबार दिनभर बेपत्ता हुँदा सत्ता गठबन्धन तनावमा परेको पाइएको छ।
राणामाथि छानबिन गरेर प्रतिवेदन फाइनल गर्ने अन्तिम दिन जसपाबाट समितिमा प्रतिनिधित्व गरेका साह बिहानैदेखि बैठकमा अनुपस्थित रहे।

अन्तिममा समितिले ९ बुँदे आधार कारणसहति बहुमतका आधारमा राणामाथि महाअभियोग लगाउन सिफारिस गर्यो। राणामाथि एक महिना लागेर गरेको छानबिनपछि संसदको अन्तिम दिनसमेत रहेकाले शनिबार प्रतिवेदन टुंग्याउनै पर्ने दबाबमा समिति थियो।

सत्ता गठबन्धन पक्ष जसरी पनि राणामाथि महाअभियोग लगाउन सिफारिस गर्नुपर्ने पक्षमा थियो भने विपक्षी एमाले प्रतिवेदन नै नलेखी समिति र संसदको कार्यकाल सकियोस् भन्ने चाहन्थ्यो। आआफ्नै रणनीतिका साथ शनिबार बिहान ८ः३० बजे समितिको बैठक बोलाइयो।

बैठकमा प्रधानन्यायाधीश राणाले अघिल्लो दिन बाँकी रहेको आफ्नो बयान प्रमाणित गर्न लागे। राणाले शुक्रबार ६४ पेज मात्रै हस्ताक्षर गरेका थिए भने ११० पेज बाँकी नै थियो।

राणाले बयान प्रमाणित गर्न लागिरहँदा सत्ता पक्षका सांसदहरु प्रतिवेदन लेखनमा लागे भने विपक्षी सकेसम्म छानबिन सकिएको छैन भनेर प्रतिवेदन नलेख्ने र लेखी हाले फरक मत राख्ने तयारीमा जुटे। राणा १२ बजेतिर बयानमा हस्ताक्षर सकेर निस्के।

प्रतिवेदन लेखनबारे छलफल गर्न समितिको बैठक दिउँसो ३ बजे बोलाइयो। ३ बजे बैठक बोलाइए पनि समयमा सुरु भएन। समितिमा निर्णायक बनेका सांसद प्रमोद साह बेलुका पनि अनुपस्थित रहे।

शाह फेरि अनुपस्थित रहेपछि सत्ता गठबन्धनमा खैलाबैला मच्चियो। किनकी शाह नहुँदा राणालाई महाअभियोग लगाउन सिफारिस गर्न चाहिने बहुमत सत्ता पक्षसँग पुग्ने अवस्थामा थिएन।

११ सदस्यीय छानबिन समितिमा एमालेबाट विष्णु पौडेल, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र शिवमाया तुम्बाहम्फे थिए। त्यस्तै कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र समिति सभापति रामबहादुर बिष्ट, माओवादीबाट रेखा शर्मा र यशोदा, एकीकृत समाजवादीबाट कल्याणी खड्का, जसपाका शाह र लोसपाबाट एकवाल मियाँ थिए।

मियाँलाई महाअभियोगको पक्षमा उभ्याउन सत्ता गठबन्धनले निक्कै कोसिस गर्यो। विश्वकर्माले मियाँलाई फकाउन भरपुर लागे। तर सकेनन। पौडेल र उनले मियाँसँग तारन्तार गरेको गोप्य कुराकान हेर्न लायक थियो। अन्तत तानानमा परेका मियाँ एमालेतिर खुले।

तर साहले समर्थन नगर्दा राणालाई महाअभियोग लगाउन सिफारिस गर्न संभव थिएन। बेलुका पनि उनी समितिमा उपस्थित भएपछि समितिमा मात्रै होइन, गठबन्धनभित्रै खैलाबैला मच्चियो। साहले फोनसमेत बन्द गरेर बस्दा थप शंका उपत्पन्न भयो।

समितिबाटै सांसदहरुले जसपाका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेतालाई फोन गरे। शीर्ष नेताको फोनपछि दिनभर हराएका सांसद शाह एक्कैपटक बेलुका ७ बजेतिर उपस्थित भए। उनको उपस्थितिपछि मात्रै सभापति रामबहादुर बिष्टले बैठक सुरु गरे। बैठकमा सांसदहरुले पार्टी निर्देशित राय राखे, जुन पहिल्यै क्लिएर थियो।

महाअभियोग लगाउनुपर्ने नौ आधार कारण, अर्को संसदमा पेश गर्न सुझाव

यदि साह बेलुका उपस्थित नभएको भए समितिले राणामाथि महाअभियोग लगाउनुपर्ने सिफारिस गर्नै सक्दैन थ्यो। किनकी पक्ष विपक्षमा पाँच पाँच जना सांसद देखिए। र सभापति बिष्टको निर्णायक मतका कारण मात्रै बहुमतले प्रतिवेदन पारित गर्यो।

उनी नगइदिएको महाअभियोगको विपक्षमा पाँच र पक्षमा चार जना सांसद हुँदा स्वतः गठबन्धको योजना फेल खान्थ्यो। किनकी मत बराबर भएको अवस्थामा मात्रै सभापतिले निर्णायक मत दिने संसदीय अभ्यास हुन्छ।

स्रोतका अनुसार साहलाई अनुपस्थित गराउन एमालेले अप्रत्यक्ष रुपमा भूमिका खेलेको बुझिन्छ। एमालेका एक सांसदले भने, ‘राणालाई महाअभियोग लगाउन सिफारिस गर्ने उहाँहरुको योजना विफल भइसकेको थियो। दिनभर फोन बन्द गरेर हराउनुभएका प्रमोद जी बेलुका फुत्त आइदिनुभयो। जसले गर्दा उहाँले चाहेअनुसार भयो।’

साहले आफू त्यस दिन दिनभर संसदमै व्यस्त रहेको दाबी गरे। उनले भने, ‘म १२ बजे खाना भएर १ बजेको बैठकका लागि संसद गएको थिएँ। साँझसम्मै उतै बसेको हो। त्यसपछि साँझ मात्रै समितिको बैठकमा आएको हुँ।’

असोज ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्