‘छोरीले जन्माएका आमाहरू’ पुस्तकको अन्तर्राष्ट्रिय लोकार्पण

काठमाडाैँ- नेपालबाहिर हाल अमेरिकाका विभिन्न राज्यहरूमा बसोबास गरिरहेका बाह्रजना छोरीद्वारा सिर्जित आमाहरूको जीवनकथा समेटिएको ‘छोरीले जन्माएका आमाहरू’ पुस्तकको हालै अन्तर्राष्ट्रिय लोकार्पण भएको छ।

जुममार्फत् अमेरिकाबाट गत शनिबार सार्वजनिक गरिएको यस पुस्तकले सातजना जीवित र पाँचजना दिवंगत आमाहरूको सत्य-कथा भनेको छ।

स्मरणीय छ- यस पुस्तकको सार्वजनिकीकरण करिब एक साता पहिले काठमाडौँबाट पनि गरिएको थियो।

पुस्तकको अन्तर्राष्ट्रिय सार्वजनिक समारोहमा उपस्थित र पुस्तकका पात्रसमेत रहेकी आमा राधा कँडेल (रमा मिश्र) र जया घिमिरे, कार्यक्रमका वक्तात्रय रजनी ढकाल, महेश पौडेल र केशव ज्ञवाली, अक्षर क्रिएसन्सका अर्चना थापा तथा पुस्तकका परिकल्पनाकार, संयोजक तथा एक लेखक मञ्जु थापाका साथै सम्पादक जयदेव गौतम र सम्पूर्ण लेखकहरूले मुखपृष्ठ प्रदर्शन गर्दै सामूहिक रूपमा पुस्तकको लोकार्पण गरेका थिए।

सम्बोधन क्रममा प्रकाशक अक्षर क्रिएसन्सकी अर्चना थापाले ‘मूलतः यो पुस्तक ‘हर-स्टोरी डक्युमेन्टेसन’ को एक प्रयास हो। आमाहरूको जीवनी र महिलासम्बन्धी इतिहास लेखनको सम्मिश्रण हो र महिलाहरूको योगदानलाई सम्मान गर्दै त्यसलाई अजर-अमर तुल्याउने अभियानको एक अंश पनि हो।

यसका साथै, सरल भाषा र रोचक शैलीमा लेखिएका उल्लिखित सत्य-कथाहरू निजी र सार्वजनिक ‘स्पेस’ मा आमाहरूले गर्दै आएका गोचर र अगोचर संघर्ष, श्रम र योगदान देखाउने आँखीझ्याल हुन्’ भन्दै यस किसिमका पुस्तकहरू अझ धेरै लेखिनुपर्ने आवश्यकता औँल्याइन्।

लोकार्पण समारोहलाई सम्बोधन गर्दै समालोचक-साहित्यकार डा. रजनी ढकालले भनिन्, ‘महिलाले बाँचेको जीवनलाई लेख्नु भनेको समाजको धेरै क्षेत्रलाई लेख्नु हो। महिलाको इतिहास लेख्नु भनेको वास्तविक इतिहास लेख्नु हो जुन काम यो पुस्तकले गरेको छ।’

पुस्तकमाथि टिप्पणी गर्दै लेखक-अनुवादक महेश पौडेलले यस किताबको परिकल्पना ‘अफ दी बिट भएको’ उल्लेख गर्दै महिलालाई हेर्ने र गरिने व्यवहारबीचको विरोधाभाषलाई उत्खनन् गर्ने यो पुस्तकको मुख्य उद्धेश्य रहेको बताए।

आफ्नाे कथा-सङ्ग्रह ‘अर्को भोर’ का लागि हालै पद्मश्री पुरस्कार पाएका कथाकार केशवराज ज्ञवालीले पुस्तकमा चित्रित आमाहरूको कथाले जीवनमा आइपर्ने धेरै समस्याहरू पार गरेर पनि कोसिस गर्‍याे भने आफनो लक्ष्य हासिल गर्न सकिने बताए।

यसैगरी संयोजक मञ्जु थापाले पुस्तकको परिकल्पनादेखि लेखन, सम्पादन एवं प्रकाशनसम्ममा करिब डेढ वर्ष लामो अथक परिश्रम लागेको उल्लेख गर्दै आफ्नाे एक अनुसन्धानबाट नेपालमा यस किसिमका पुस्तकको संख्या पाँच सयभन्दा बढी नभएको निष्कर्ष निस्केको बताइन्।

अक्षर क्रिएसन्सले प्रकाशन गरेको करिब ४५० पृष्ठ लामो ‘छोरीले जन्माएका आमाहरू पुस्तकमा इन्द्र गुरौ, उमा शर्मा, कमला न्यौपाने, डा. कविता घिमिरे, कल्पना तामाङ, जानु ओझा, तनुजा पाखरेल, निर्मला राई, मीरा बस्नेत, मञ्जु थापा, डा. मोनिका आचार्य र सञ्जीता बराइली गरी बाह्रजनाका लेख समाविष्ट छन्।

असोज ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्