मुकुन्दराज शर्माको निबन्ध संग्रह ‘शब्दशिविर’ सार्वजनिक

काठमाडौँ – गीतकार एवम् साहित्यकार मुकुन्दराज शर्माको निबन्ध संग्रह ‘शब्दशिविर’ सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, साहित्यकार माधवप्रसाद पोखरेल, वरिष्ठ कलाकार हरिहर शर्मा, निबन्धकार एवम् समिक्षक मोमिला, कामना न्यूज पब्लिकेशनका सम्पादक दिरेकलाल श्रेष्ठ तथा निबन्धकार शर्माका बुबा/आमालगायतले साेमबार ‘शब्दशिविर’को विमोचन गरेका हुन् ।

लिट्टल एन्जल्सका प्रिन्सिपल रहेका शर्माको साे ३१ वर्षअघि देखिएको निबन्धबाट प्रेरित भएर तयार पारेका हुन् । लामाे समयदेखि नेपाली साहित्य जगतमा निरन्तर क्रियाशील रहेका शर्मा प्युठानमा जन्मिएका हुन् ।

निबन्धकार शर्माले एक सताब्दी पुरा गरेका बुवा निमानन्द शर्मा र ९५ वर्षीय आमा शोभादेवीको कोख र काखको मेरो जीवनमा प्रेरणा मिलेको र त्यसैको परिणामको कारण निबन्ध संग्रह तयार भएको बताए । उनले २०४७ सालमा मधुपर्कमा पहिलो निबन्ध संग्रह निबन्ध प्रकाशित भएपछि आफूलाई लेखन कार्यमा थप उर्जा मिलेको बताएका हुन् ।

कार्यक्रममा आफ्ना भनाइ राख्दै राज्यमन्त्री श्रेष्ठले भने, ‘गीतकारको रुपमा चिनेको शर्माले निबन्ध संग्रह प्रकाशन गर्दा आफूलाई अत्यन्तै खुसी लागेको छ । ३४ वर्षदेखि निरन्तर विद्यालयको वागडोर सम्हाल्नुभएका प्रिन्सिपल शर्माको योगदानलाई कसैले बिर्सन हुँदैन । अहिलेको अवस्थामा शिक्षामा आमुल परिवर्तनको आवश्यकता रहेको छ ।’

यस्तै, कार्यक्रममा नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ कलाकार हरिहर शर्माले मुकुन्द शर्माको निबन्ध संग्रहले उनलाई स्थापित साहित्यकार बनाएको बताए ।

उनले भने, ‘म साहित्यको ज्ञाता होइनँ तर मेरो भाइ मुकुन्दले यसअघि लेखेका सबै गीतले चर्चा कमाएको थियो, अब निबन्ध संग्रहले थप उचाइमा पुर्‍याउनेछ । यो निबन्ध प्रकाशक दिरेकलाल श्रेष्ठको गुरु दक्षिणाको रुपमा रहेको छ ।’

२५ वटा निबन्ध संकलित रहेको ‘शब्दशिविर’ आजबाट देशभर पाइनेछ । २ सय १२ पुष्ठको सो निबन्ध संग्रहको मुल्य ४ सय रहेको प्रकाशकले जनाएको छ । शब्दशिविरभित्र गुन्द्रुक भिसादेखि विश्रान्ती (क्षणिकी-२)सम्मका बेजोड निबन्धहरू रहेका छन् ।

असोज ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्