अन्तरिक्षमा ४३७ दिन बसेका अन्तरिक्षयात्री भलेरी पाेल्याकाेभकाे निधन

एजेन्सी- अन्तरिक्षमा ४३७ दिन बसी कीर्तिमान राखेका रुसी अन्तरिक्ष यात्रीको ८० वर्षको उमेरमा निधन भएको छ।

रुसी अन्तरिक्ष एजेन्सीले पोल्याकोभको निधन भएको घोषणा जनाएकाे हाे। यद्यपि उनकाे निधनकाे कारण भने खुलाइएकाे छैन।

भलेरी पोल्याकोभले सन् १९९४-१९९५ को बीचमा ४३७ दिन मीर अन्तरिक्ष स्टेसनमा बिताएका थिए।

उनले त्यहाँ मंगल ग्रहमा लामो दूरीको यात्रा गर्नुपर्‍यो भने मानिसहरूले आफ्नो मानसिक स्वास्थ्य कायम राख्न सक्छन् कि सक्दैनन् भनेर प्रयोग गरिरहेका थिए।

पाेल्याकाेभकाे १४ महिनाको अभियानमा उनको कार्यशैलीमा कुनै क्षति पुगेको थिएन।

उनकाे जन्म मस्काेमा १९४२ मा भएकाे थियाे। उनी अन्तरिक्षयात्री बन्नुभन्दा पहिला चिकित्सक थिए।

पाेल्याकाेभकाे पहिलो मिसन अगस्ट १९८८ मा सुरु भएकाे थियाे। उक्त मिसनमा उनले आठ महिना अन्तरिक्षमा बिताएका थिए।

त्यसपछि उनले ६ वर्षपछि गरेको यात्रा सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बस्ने कीर्तिमान हो, जुन अहिलेसम्म कायमै छ।

पोल्याकोभले मीर स्पेस स्टेसनमा काम गर्ने क्रममा ७ हजारभन्दा बढी पटक पृथ्वीको परिक्रमा गरेका थिए।

असोज ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्