काभ्रेको साँगामा अर्ध नारेश्वरधामको प्रतिमा स्थापना गरिने

काठमाडौँ- छिमेकी मुलुक भारतमा रहेको अर्ध नारेश्वरधामको प्रतिमा नेपालमा पनि स्थापना गरिने भएको छ।

काभ्रेको नेपाल प्रहरी स्कुल साँगामा अर्ध नारेश्वरधामको प्रतिमा स्थापना गर्न लागिएको अर्ध नारेश्वरधामकी नेपाली प्रतिनिधि प्रमुख राज्यलक्ष्मी शाक्यले बता‍इन्।

मंगलबार रिपोर्टर्स् क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर काभ्रेस्थित दीपेन्द्र प्रहरी स्कुलनजिकै धाम स्थापनार्थ निर्माण कार्य सुरु भइसकेको जानकारी दिइएको हो।

अर्ध नारेश्वरधामको प्रतिमा स्थापना गर्ने उद्देश्यले आफू नेपाल आएको विश्वकै पहिलो भागवत कथावाचक महामण्डलेश्वर हिमांगी सरबीले सुनाइन्।

उनले आफू भगवान विष्णुको पहिलो भागवत कथावाचक भएको समेत दाबी गरिन्। उनले भनिन्, ‘सबै मानिसलाई आशीर्वाद दिन आएकी हुँ। नेपाल र भारत एउटै हुन्। यी दुई राष्ट्र प्रेमका भूमि हुन्।’

हिमांगी सरबीले नेपालमा अर्ध नारेश्वरधामको जल स्थापना गर्ने घोषणा गर्दै आफू किन्नर निर्मोही अखडा महामण्डलेश्वर भएकोसमेत जानकारी दिइन्। र, नेपालमा पनि किन्नर निर्मोही अखडाको शाखा विस्तार गर्न लागेको उनको भनाइ थियाे।

त्यस्तै, उक्त धामकी नेपाल उपप्रमुख गीता तिमल्सिनाले काभ्रेमा धार्मिक धाम बनाउन खोजेको भन्दै उक्त योजनामा राजनीति र धर्म नमिसिने स्पष्ट पारिन्।

अहिले धार्मिक धाम बनाउन लागेको सुनाउँदै पछि विद्यालय बनाउने र त्यसबारेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइने बताइन्।

धाम, विद्यालयजस्ता पवित्र निर्माण कार्यमा जो कोही पनि जोडिने सक्ने उनकाे भनाइ छ।

 

असोज ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्