डा. केसीलाई काठमाडाैँ लैजाने सरकारको प्रयास असफल

धनगढी- धनगढीमा अनसनरत डाक्टर गोविन्द केसीलाई थप उपचारका लागि आजै काठमाडाैँ लग्ने प्रयास असफल भएको छ।

उनले काठमाडाैँ जान नमानेपछि सरकारको प्रयास असफल भएको हो।

अनसन बसेको नवाैँ दिनमा मंगलबार केसीलाई थप उपचारका लागि काठमाडाैँ लग्ने प्रयास गरे पनि उनले धनगढीमै बस्ने अडान लिएकाे कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए।

‘उहाँको स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मीले सेती अस्पतालबाट रेफर गरिसकेका छन्’, उनले भने, ‘त्यसैले केसीले काठमाडाैँ जानै पर्ने हुन्छ, हामी प्रयासमा छौँ। आज नगए भोलि जानुहुन्छ।’

‘नागरिकको स्वास्थ्य रक्षा गर्नु राज्यको दायित्व हो’, प्रजिअ थापाले थपे, ‘डाक्टर केसीको स्वास्थ्य अवस्था अहिले जटिल छ। उहाँलाई काठमाडाैँ लग्नुको विकल्प छैन।’

डाक्टर केसीलाई काठमाडाैँ लैजान नेपाली सेनाको स्काई ट्रक धनगढीमा तयारी अवस्थामा राखिएको छ।

यद्यपि डाक्टर केसीले भने आफ्ना माग पूरा नभएसम्म धनगढीमै अनसन बस्ने अडान लगेको डाक्टर केसीको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्टेण्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए।

‘रक्तचाप घटेर ४० मा पुगेको छ। सुगरको मात्रा धेरै कम छ। आमाशयबाट रगत बगिरहेको छ, यस्तोमा उहाँलाई सेतीमा उपचार दिन सम्भव छैन। हामीले जतिसक्दो छिटो काठमाडाैँ लैजान सुझाव दिएका छौँ’, उनले भने।

स्वास्थ्य सुधारका लागि भन्दै ७ बुँदे माग राखेर भदौ २७ गते धनगढीस्थित गीता सत्तसंगको धर्मशालाबाट डाक्टर केसीले २० औँ अनसन सुरु गरेका थिए।

भदौ २९ गते स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

असोज ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्