अब बदलिएको नियममा खेलिनेछ टी-२० विश्वकप, यस्ता छन् नियम

काठमाडाैँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को बाेर्ड बैठकले मंगलबार क्रिकेट नियम बदल्ने प्रस्तावलाई स्वीकृत प्रदान गरेको छ।

आइसिसीले विभिन्न नियमहरू परिवर्तन गर्ने निर्णय गरेको हो। जसमा कोरोनाकालमा लगाएका केही अस्थायी नियमहरूलाई अब सधैँका लगि कार्यान्वयन गरिने भएको छ।

शौरव गांगुलीको अध्यक्षतामा बसेको बैठकले मेरिलोबन क्रिकेट क्लब (एमसीसी)ले नियम परिवर्तनका लागि प्रस्ताव गरेका नियमहरूलाई कार्यान्वयनमा आगामी १ अक्टोबरबाट लैजाने निर्णय गरेको हो।

अब १६ अक्टोबरबाट अस्ट्रेलियामा सुरु हुने विश्वकपमा नयाँ नियम लागू हुनेछ।

यस्ता छन् परिवर्तन भएका नियम:

चाँडो मैदानमा आउनुपर्ने

कुनै पनि ब्याटर आउट भएपछि अर्को खेलाडी क्रिजमा आइपुग्नुपर्ने समय घटाइएको छ। अब टेस्ट र एकदिवसीयमा २ मिनेटभित्रमा अर्को खेलाडी क्रिजमा आइसक्नुपर्ने छ।

जबकि, टी-२० अन्तर्राष्ट्रियमा यो समय ९० सेकेन्डको तय गरिएको छ। यसअघि ३ मिनेटको समय दिने गरिन्थ्यो। नयाँ ब्याटर फिल्डमा चाँडो नआएमा फिल्डिङ टिमले अपिल गर्न पाउने छन्।

बल खेल्ने अधिकार

यदि ब्याटरले बलसम्म पुग्नका लागि पिच छोडेर बाहिर आउनुपर्ने भएमा अम्पायर कल हुनेछ। यस्तोमा अम्पायरले डेडबलको मान्यता दिन सक्नेछन्। यदि कुनै बलरले ब्याट्सम्यानलाई पिचबाट बाहिर आउन बाध्य पार्ने बलिङ गरेमा अम्पायरले यसलाई नो बलको मान्यता दिन सक्नेछन्।

फिल्डर र बलरको गलत व्यवहार

बलिङका दौरान दौडन सुरु गरेको अवस्थामा बलरले अनुचित व्यवहार वा मुभमेन्ट गरेको खण्डमा अम्पायरले एक्सन लिन सक्नेछन्। अम्पायरले ब्याटिङ टिमलाई ५ रन दिन सक्नेछन्। यसलाई डेडबलको मान्यता पनि दिन सकिने छ।

मानकडिङ नहुने अब रनआउट नै

अब मानकडिङ (ब्याटरले बलिङ गर्नुअघि नै क्रिज छोडेपछि बलरले बलिङ गर्न खोजेको बलले नै गरिने आउट) आउटलाई पनि रनआउटको मान्यता दिइने भएको छ।

मानकडिङ आउट भारत-अस्ट्रेलिया टेस्टका दौरान वीनू मानकडिङले पहिलो पटक यस्तो आउट गरेका थिए। त्यसपछि यसलाई उनको सरनेमको आधारमा यो नियम कायम गरिएको थियो।

क्रिजको अधिकार

कुनै पनि खेलाडीले क्याचआउट भएपछि आउने नयाँ ब्याट्सम्यानले अब सिधै स्टाइकमा पुग्ने छ। त्यो अवस्थामा दौडिएर आउट हुने ब्याटस्म्यानको ठाउँमा ननस्ट्राइक ब्याटर पुगे पनि नयाँ आउने ब्याटरले नै ब्याटिङ गर्नु पर्नेछ।

बल चम्काउने अधिकार

अब बल चम्काउनका लागि अस्थायी रूपमा थुक लगाउन नपाउने नियमलाई स्थायी गरिएको छ। कोरोनाकालमा बलमा थुक लगाउन नपाउने नियम बनाइएको थियो। यसलाई अब सधैँका लागि कार्यान्वयनमा ल्याइएको हो।

असोज ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्