अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास जारी छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा। फाइल तस्बिर।

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताएका छन्।

मंगलबार काठमाडौँमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री देउवाले स्वास्थ्य पूर्वाधार सेवाहरूको बिस्तार र सुदृढीकरण गरी हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताए।

उनले सबैको समन्वयबाट कोभिड- १९ र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री देउवाले भने, ‘हाल कोरोना महामारीबाट पूर्णमुक्त हुन नपाउँदै पुनः डेंगु रोगबाट पीडित हुन पुगेका छौँ। विगत केही समययता कोभिड १९ का साथै डेंगु रोगबाट धेरै नेपाली नागरिकहरू पीडित भइ कतिले अमूल्य जीवनसमेत गुमाउनुपरेको छ। कोरोना र डेंगुबाट निधन भएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। कोभिड र डेंगु रोगबाट प्रभावितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। एकपछि अर्को महामारीको सामना गर्नुपर्दा हाम्रो समग्र जनजीविका सामाजिक, आर्थिक जीवन नराम्रो गरी प्रभावित भइरहेको छ। सरकारले स्वास्थ्य पूर्वाधार सेवाहरूको बिस्तार र सुदृढीकरण गरी हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ। यस कार्यमा सरकारले विगतमा झैँ नेपाल चिकित्सक संघ यसमा आवद्ध सम्पूर्ण चिकित्सकहरुको सहयोग र साथ पाउने विश्वास लिएको छ। साथै सबैको समन्वयबाट कोभिड र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुनुहुनेछ भन्ने विश्वास लिएका छौँ। सरकारले शुरुदेखि नै जनस्वास्थ्यका मापदण्डहरूको निर्धारण, पालना, खोप लगायतका आवश्यक सामग्रीहरुको आपूर्ति वितरण र कोभिड १९ र डेंगु रोगबाट बिरामीको उपचार र व्यवस्थापन, नियन्त्रणमा जोड दिँदै आइरहेका छौँ।’

उनले विज्ञहरूको छलफल, परामर्श र नीतिगत सुधारका विषयलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिवद्धतासमेत जनाए।

प्रधानमन्त्री देउवाले स्वास्थ्य क्षेत्र बहुआयामिक विषय भएकाले यस क्षेत्रमा देखापर्ने कुनै पनि समस्या समाधानका लागि सामूहिक प्रयत्न र सहकार्यको आवश्यकता पर्ने उल्लेख गरे।

उनले डेंगुलाई नियन्त्रणमा ल्याउन सबैले एकपटक एकजुट भएर काम गर्न आवश्यक रहेको पनि बताए।

 

असोज ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्