भाडामा जग्गा लिएर सिमकोटमा डम्पिङ साइट बन्ने

सिमकोट- सिमकोट गाउँपालिकाले भाडामा जग्गा लिएर नयाँ डम्पिङ साइट निर्माण गर्ने भएकाे छ।

यही आर्थिक वर्षमा सिमकोट गाउँपालिका- ५ को हुमाने खोलाको चिसामुल क्षेत्रमा डम्पिङ साइट निर्माण हुने भएको हो।

गाउँपालिका अध्यक्ष विजय भण्डारीका अनुसार स्थान छनौट भएपछि नयाँ डम्पिङ साइट निर्माण गर्ने बाटो खुलेको बताए।

डम्पिङ साइट नहुँदा सिमकोटमा फोहोर व्यवस्थापन गर्न कठिन हुँदै आएको छ।

अध्यक्ष भण्डारीले तीनजना स्थानीय व्यक्तिकाे जग्गा ६ वर्ष भाडामा लिएर डम्पिङ साइट निर्माण गरिनेछ।

त्यसका लागि ती व्यक्तिसँग गाउँपालिकाले सम्झौतासमेत भइसकेकाे उनकाे भनाइ छ।

सम्झौताअनुसार गाउँपालिकाले मासिक सात हजार रुपियाँ भाडा उपलब्ध गराउने छ।

डम्पिङ साइट निर्माणका लागि प्रदेश सरकारले सिमकोट गाउँपालिकालाई पचास लाख रुपैयाँको बजेट निकासा गरिसकेको छ।

अध्यक्ष भण्डारीले सबै कुरा मिलिसकेको कारण असोज महिनाभित्र निर्माण कार्यका लागि बोलपत्र आह्वान गरिने बताए।

नयाँ बन्ने संरचनामा डम्पिङ साइटसम्म जाने सडक र खोल्सोमा ग्याबिन लगाउने कार्य हुनेछ। त्यसैगरी सिसा सङ्कलन गरेर भण्डार गर्नका लागि भवन निर्माण गर्न पर्नेछ।

हाल स्थायी डम्पिङ साइटको व्यवस्था नहुँदा सिमकोट बजारको फोहोर सडक किनारामा फाल्ने गरिएको छ। जसले गर्दा सडक दुर्गन्धित भएको गुनासो आउने गरेको छ।

 

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्