सिरहामा नागरिकता विधेयक प्रमाणीकरण नगरेकाे विराेधमा जनमत पार्टीकाे प्रदर्शन

सिरहा- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा सिरहामा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा सिरहाको धनगढीमाइ नगरपालिका ८ स्थित कसहा चौकमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो।

सयौँको संख्यामा रहेका प्रदर्शनकारीले सडकमा टायर बालेर करिब १ घन्टा सवारी आवागमनमा समेत अवरोध गरेका थिए।

सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले निर्धारित समयमा प्रमाणीकरण गरिनन्।

संविधानको धारा ११३ को उपधारा (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनःविचार गरी त्यस्तो विधेयक प्रस्तुतरूपमा वा संशोधनसहित पारित गरी पुनः पेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ।

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्