‘लोकतन्त्रले जनतालाई डेलिभर गर्छ’ भन्नेमा नेपाल विश्वास गर्छः परराष्ट्र सचिव पौड्याल

फाइल तस्बिर

काठमाडाैँ- परराष्ट्र सचिव भरतराज पौड्यालले ‘लोकतन्त्रले जनतालाई डेलिभर गर्छ’ भन्नेमा नेपालले विश्वास गर्ने बताएका छन्।

संयुक्त राष्ट्रसंघको ७७ औँ महासभाको अवसरमा मंगलबार अमेरिकाको न्यूयोर्कमा आयोजित ‘डेमोक्रेसी डेलिभर्स’ विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

‘हामी लोकतन्त्रका ‘त्रिदेशात्मक’ नतिजा अर्थात् शान्ति, मानवअधिकार र विकासमा केन्द्रित भएकाले ‘लोकतन्त्रले जनतालाई डेलिभर गर्छ’ भन्नेमा नेपाल विश्वास गर्छ’, उनले भने।

कार्यक्रममा बोल्दै परराष्ट्र सचिव पौड्यालले नेपालको संविधानले सर्वव्यापी रूपमा स्वीकार्य लोकतान्त्रिक सिद्धान्तलाई मान्यता दिएको, समानुपातिक प्रतिनिधित्व र राष्ट्रिय जीवनमा समाजका सबै वर्गको सहभागिताको प्रत्याभूति गरेको बताए।

राजनीतिक मुद्दा टुंगिएपछि अहिले नेपाल गरिबी, अल्पविकसित र पछौटेपनविरुद्ध लडिरहेको उनले जनाए।

यसका लागि नेपालको प्राथमिकतामा कृषिको आधुनिकीकरण, पूर्वाधार विकासको तीव्रता, जलविद्युतको विशाल सम्भावनाको उपयोग, पर्यटन र जनशक्ति विकास रहेको उनले जानकारी दिए।

परराष्ट्र सचिव पौड्यालले कार्यक्रममा निजी क्षेत्रका लागि सिर्जना गरिएको सक्षम वातावरण र स्वदेशी तथा विदेशी लगानीलाई जोगाउन तयार गरिएको बलियो कानुनी तथा नीतिगत संरचनाबारे प्रकाश पारेका थिए।

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्