नागरिकता विधेयकमा राष्ट्रपतिको कदमप्रति जनमोर्चाको दोहोरो चरित्र

फाइल तस्बिर

काठमाडौँ-  सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले राम्रो नियतले नागरिकता विधेयक प्रमाणीकरण नगरेको निष्कर्ष निकालेको छ।

विदेशी महिलालाई सहजै नेपाली नागरिकता दिन खोजिएकोप्रति जनमोर्चाको असहमति रहेको तर राष्ट्रपतिले गलत नियतले उक्त विधेयक प्रमाणीकरण नगरेको जनमोर्चाले जनाएको हाे।

जनमोर्चाका सचिव हिमलाल पुरीले देश सञ्चारसँग भने, ‘राष्ट्रपतिले संविधान र कानुनको उल्लंघन गर्नुभएको हो। राष्ट्रपतिको नियत सही देखिएन।’

सत्ता गठबन्धनको बुधबार बसेको बैठकले निकालेको निष्कर्षमा जनमोर्चाले भने हस्ताक्षर गरेको छैन।

सत्तारूढ गठबन्धनले राष्ट्रपतिको कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको निष्कर्ष निकाल्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टाले मात्रै हस्ताक्षर गरेकाे छ।

जनमोर्चा भने उक्त विधेयक प्रमाणीकरण गर्न नहुने पक्षमा थियो। विधेयक स्वीकार पनि नगर्ने र राष्ट्रपतिको भूमिकाको पनि विरोध गरेर दोहोरो चरित्र देखाएको हाे।

सत्ता गठबन्धनका चार दलले हस्ताक्षर गरेको विज्ञप्तिमा ‘राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ। राष्ट्रपतिको यो कदमविरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर, सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, सञ्चारजगतलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा यो बैठक आह्वान गर्दछ’, भनिएको छ।

 

 

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्