डेङ्गी सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न एमालेको माग

काठमाडाैँ – नेकपा एमालेले डेङ्गी सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेङ्गी सङ्क्रमणका अवस्था जटिल बन्दै गएको भन्दै रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गर‍ेका हुन् ।

विज्ञप्तिमा उनले तीनै तहका सरकारलगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायकाबीचमा समन्वयात्मक परिचालन, सिटामोललगायतका औषधिको सहज उपलब्धताको माग गरेका हुन् ।

लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन, बिरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न मेत उनले आग्रह गरे ।

नेता भट्टराईले देशव्यापीरुपमा फैलिएको डेङ्गी रोगका कारण उत्पन्न स्वास्थ्य प्रकोपका सम्बन्धमा पार्टीको ध्यानाकर्षण भएकोसमेत जनाएका छन् ।

पछिल्लो तथ्याङ्कअनुसार १७ हजार पाँच सय ९४ जना प्रभावित र २१ जनाको मृत्यु भएको छ । डेङ्गी रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्र्यो त्यसमा सरकार चुकेको उनको भनाइ रहेको छ ।

उनले पार्टीका तहगत कमिटी तथा जनसङ्गठन र पार्टी सदस्यलाई समेत डेङ्गी रोग नियन्त्रणमा योगदान गर्न आह्वानसमेत गरेका छन् ।

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्