राष्ट्रपतिले संविधानको उल्लंघन गरेको भन्दै उपराष्ट्रपतिको आपत्ति

फाइल तस्बिर

काठमाडौँ –  नागरिक ऐन संशोधन गर्ने विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवि भण्डारीको गैरसंवैधानिक कामप्रति उपराष्ट्रपति नन्दकिशोर पुनले आपत्ति जनाएका छन्।

बुधबार विज्ञप्ति जारी गर्दै पुनले संविधानको प्रमुख पालक र संरक्षकबाट उल्लंघन हुनु दुखद् रहेको भन्दै आपत्ति जनाएका हुन्।

पुनले भनेका छन्, ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठिरहेका छन्। यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो।’

दोस्रोपटक प्रमाणिकरणका लागि आफू समक्ष आएको नागरिकता विधेयक संविधानको धारा ११३ (४) अनुसार प्रमाणीकरण गर्नेपर्ने भए पनि राष्ट्रपति भण्डारीले नगरी उल्लंघन गरेको आरोप लागेको छ।

नागरिकता विधेयकः राष्ट्रपति भण्डारीबाट संविधान उल्लंघन

संविधानको उक्त दफामा भनिएको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको पन्ध्र दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ।’

राष्ट्रपति भण्डारीले धारा ११३ (४) मात्रै नभइ धारा ६१ (४) को समेत ठाडो उल्लंघन गरेको आरोप लागेको छ। धारा ६१ (४)ले संविधानको पालना र संरक्षक राष्ट्रपति हुने व्यवस्था गरेको छ।

उपराष्ट्रपति पुनले राष्ट्रपति भण्डारीलाई संवैधानिक दायरा बाहिर नजान समेत सुझाएका छन्।

पुनले भनेका छन्, ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन। संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु।’

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्