सञ्चारउद्यमी सिंघानिया हत्या प्रकरणमा उच्च अदालतद्वारा जिल्लाकै फैसला सदर

जनकपुर उच्च अदालत।

जनकपुरधाम – उच्च अदालत जनकपुरले सञ्चारउद्यमी अरूण सिंघानिया हत्या मुद्दामा जिल्ला अदालत धनुषाकै फैसला सदर गरेको छ।

बुधबार न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ वैध र डालकुमार खड्काको इजलासले जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएको अदालतका रजिस्टार खड्गराज अधिकारीले जानकारी दिए।

०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपित पूर्व मन्त्री सञ्जय साहलाई जन्मकैद फैसला सुनाएको थियो। जिल्ला अदालतले सञ्जय र मनक लामालाई जन्मकैदको फैसला सुनाएको थियो। यस्तै रामविनोद यादवलाई तीन वर्ष, एकलाल सहनी, चन्द्रदीप यादव र पवन लामालाई १० वर्ष सजाय फैसला सुनाएको थियो।  सोही फैसलालाई उच्च अदालतले सदर गरेको हो।

जाहेरीवालाको तर्फबाट सरकारी वकिल कार्यलयबाट सहन्यायाधीवक्ता यदुनाथ शर्मा, विपिन कुमार झा, हेमबहादुर कार्की र राजलाल यादवले बहस गरेका थिए।

प्रतिवादीको तर्फबाट श्याम मिश्र, सुरेन्द्र महतो, प्रकाश कुमार घिमिरे, ओमप्रकाश सिंह र धर्मेन्द्र शर्माले बहस गरेको थिए।

२०६६ साल फागुन १७ गते होलीका दिन सिंघानियाको गोली हानी हत्या भएको थियो ।

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्