पदमुक्त सभामुख सापकोटाले व्यवस्थापन समितिको बैठक राखेर गरे निर्णय

पूर्वसभामुख अग्नि सापकोटा। तस्विर : रासस

काठमाडौँ – शनिबारदेखि पदमुक्त भए पनि सभामुखको पद छाड्न अस्वीकार गरिरहेका अग्नि सापकोटाले संघीय संसद व्यवस्थापन समितिको बैठक राखेका छन्।

संसद सचिवालय स्रोतका अनुसार पदमुक्त भइसकेका सभामुखले एक पक्षीय रुपमा बैठक राखेर निर्णय लिएका हुन्। आइतबार र सोमबार समानुपातिक तर्फको बन्दसूची बुझाउने कार्यतालिका रहँदा निर्वाचन आचार संहिता र अघिल्लोपटकको अभ्यासअनुसार संसदको कार्यकाल शनिबार नै सकिएको छ।

संसदको कार्यकाल सकिएसँगै उपसभामुख पुष्पा भुसाल र सांसदहरु पदमुक्त भएर घर फर्किदा पनि सापकोटाले भने आफ्नो पदावधि प्रत्यक्षतर्फको मनोनयनको अघिल्लो दिन असोज २२ गतेसम्म रहने जिकिर गर्दै नियमित कार्यालय उपस्थित भएका छन्।

बुधबार सापकोटकाको अध्यक्षमा बसेको व्यवस्थापन समितिको बैठकले गत पुसदेखि नै संसदमा हाजिर भएर काम गरिरहेका उपसचिवहरु सुशीला आचार्य र नुमराज खनालको नाम अनुमोदन गरेको छ। लोकसेवा आयोगले नियुक्ति दिएर पठाए पनि नयाँ आउने कर्मचारीलाई संसद व्यवस्थापन समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था छ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र सचिव राजेन्द्र फुयालको उपस्थिति विनै बसेको बैठकले चार जना कर्मचारीहरुको विदेश अध्ययन बिदा स्वीकृत गरेको छ।

उनीहरु यसअघि अध्ययनका लागि विदेश गए पनि व्यवस्थापन समितिको बैठक बस्न नसक्दा अध्ययन बिदा स्वीकृत हुन सकेको थिएन। सहसचिव झलक शर्मा सापकोटा, उपसचिव सिंहराज रुम्बा अधिकृतहरु मेघराज अर्याल र भानु पोखरेलले अध्ययन बिदा पाएका हुन्।

समितिले ३३ जना कर्मचारीको नियुक्ति तथा बढुवा अनुमोदन गरेको छ। करारमा कर्मचारी राखे पनि व्यवस्थापन समितिले अनुमोदन गरेको थिएन। बैठकबाट केही कर्मचारीको सुत्केरी बिदासमेत अनुमोदन भएको छ।

अध्यक्ष तिमिल्सिना र राष्ट्रियसभाका सचिव फुयालको उपस्थिति अनिवार्य हुनुपर्ने भए पनि उनीहरु विनै सापकोटाको दबाबमा बैठक राखिएको सचिवालय स्रोतले जानकारी दियो।

पूर्वनिर्धारित कार्यक्रमअनुसार मंगलबार बिहान गृह जिल्ला पुगेका अध्यक्ष तिमिल्सिनालाई साँझ मात्रै खबर गरिएको उनको सचिवालयले जानकारी दियो। ‘उहाँ हिजो बिहानै पर्वत जानुभएको हो। मेरो जानकारीमा उहाँलाई हिजै साँझ मात्रै खबर गरिएको थियो, उनका प्रेस विज्ञ अशोक पौडेलले भने।

महासचिव डा. भरतराज गौतमले समेत समन्वयन नगरी पदमुक्त सभामुखको अध्यक्षतमा बैठक राख्न सहयोग गरेको भन्दै तिमिल्सिना रुष्ट बनेका छन्।

सापकोटा र तिमिल्सिनाको टकरावका कारण व्यवस्थापन समितिको बैठक लामो समयदेखि अवरुद्ध हुँदै आएको थियो। आफू हिँडेपछि तिमिल्सिनाको अध्यक्षतामा बैठक बसेर निर्णय लिने हुँदा त्यो अवसर नै नदिन पदमुक्त भइसक्दा समेत सापकोटाले बैठक राखेका हुन्।

तिमिल्सिना र सापकोटाको सम्बन्ध तत्कालीन नेकपाको केपी ओली र प्रचण्ड–माधव पक्षबीच झगडा भएसँगै पानी बाराबारको अवस्था छ।

अघिल्लो हप्ता चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणमा आउँदा समेत दुई बीचको तीत्त सम्बन्ध छरपष्ट भएको थियो।

सापकोटाले चान्सुको सम्मानमा आयोजना गरेको रात्रि भोज तिमिल्सिनाले बहिस्कार मात्रै गरेनन् चान्सुसँग छुट्टै भेटघाट गरेका थिए। एक अर्को उपस्थित भएको औपचारिक कार्यक्रममा समेत उनीहरुसँगै उपस्थित नभएको लामो समय भइसक्यो।

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्