कांग्रेसलाई कार्यकर्ताको सुझाव : चुनावी घोषणा पत्र अन्तिम समयमा नल्याउनुस

काठमाडौँ–कांग्रेस घोषणापत्र तयारी समितिलाई स्थानीय तह निर्वाचनको जस्तो गरी अन्तिम समयमा घोषणापत्र सार्वजनिक नगर्न कार्यकर्ताले सुझाव दिएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा संघ र प्रदेश घोषणापत्र तयारी समितिको बुधबार पहिलो बैठक चल्दै गर्दा कार्यकर्ताले अन्तिम समयमा घोषणापत्र जारी गर्दा प्रचार प्रसारमा अप्ठेरो पर्ने भन्दै आक्रोस पोखेका छन्।

काठमाडौँ कांग्रेसका कार्यकता रामचन्द्र घिमिरेले स्थानीय तहको निर्वाचनमा प्रचारको अवधी तीन दिन बाँकी हुँदा मात्रै घोषणापत्र पाएको स्मरण गर्दै संघ र प्रदेशको निर्वाचनमा त्यस्तो अवस्था नदोहो¥याउन पार्टीलाई चेतावनी दिएका छन्।

उनले देश सञ्चारसँग भने–‘म काठमाडौँ मै भएको व्यक्तिले त चुनाव प्रचारको तीन दिन अघि मात्रै पार्टी केन्द्रीय कार्यलयबाट घोषणापत्र लगेर प्रचार गर्नुपरेको थियो,अन्य ठाउँका साथीहरुले के गर्नुभयो होला?’

विगतका काम हेरेर त्यसैको आधारमा घोषणापत्र तयार पार्नुपर्ने घिमिरेको मान्यता छ।
उनले २०५६ सालको निर्वाचनको समिक्षा गर्दै त्यतिवेला घोषणापत्रमा समेटिएको मध्ये ६० प्रतिशत काम सम्पन्न भएको तर पार्टीको आन्तरिक किचलोका कारण अहिलेसम्म आइपुग्दा घोषणापत्र अनुसार कामै गर्न नसकेको तर्क गरे।

स्थान बिषेशको आवश्यकतालाई अध्ययन गरेर घोषणापत्र तयार पार्न पनि उनले सुझाव दिएका छन्।
यस्तै कैलाली कांग्रेसकी नेतृ सम्झना खत्री तल्लो तहको राजनीतिक कोर्ष पुरा गरेर माथि बढ्दै गरेका आफुहरु जस्ता युवाको भावनालाई पनि घोषणापत्रमा समेट्न नेतृत्वलाई आग्रह गरेकी छन्।

स्थानीय स्तरका जनताको चाहना र संघीय संरचनालाई ध्यान दिन उनको सुझाव छ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको घोषणापत्र पार्टीका महामन्त्री गगन थापाको संयोजकत्वमा तयार भएको थियो। आगामी संघ र प्रदेशको घोषणापत्र पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा बनाउने तयारी भएको छ।

असोज ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्