विश्व गैंडा दिवस

‘वाइल्ड’ हुन याेग्य छन् ‘पुष्पा’ र ‘अञ्जली’

२०७६ साल माघ ५ गते चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा बेवारिसे ‘केटी’ (गैंडाकाे पाेथी बच्चा) गस्ती गएका वनका कर्मचारीले फेला पारे। नवलपुरको तमासपुरमा खोला किनारको घाँस घारीमा एक्लै कराउँदै हिँडेको बच्चालाई उनीहरुले आमा आएर लिएर जाने आशमा निगरानीमा राखे।

आमा लिन नआएपछि उनीहरुले बच्चालाई अमलटारी ल्याए र त्यहाँबाट राष्ट्रिय प्रकृति संरक्षण कोषको टीमले सौराहाको कार्यालयमा ल्यायो। आमाकाे साथबाट छुटेकाे केही दिनको ‘केटी’लाई कोषका कर्मचारीले न्वारन गरेर नाम राखिदिए ‘पुष्पा’।

२०७७ चैतमा चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा एक्लै रहेकी पुष्पाको साथी हुन आइन् ‘अञ्जली’। गैंडा गणनाको क्रममा चैत २३ गते अमलटारीअन्तर्गतकै लाैखानी क्षेत्रमा पर्ने नमुना सामुदायिक वनमा करिब एक साताको गैंडाको बच्चा अलपत्र अवस्थामा भेटियो।

राष्ट्रिय प्रकृति संरक्षण काेषका वन्यजन्तु प्राविधिक टिका थारुका अनुसार वन समितिका मान्छेहरुले गैंडाकाे बच्चा देखेका थिए। आमा आएर लिएर जाने आशमा निकैबेर पर्खिंदा आमा नआएपछि उद्धार गरिएकाे हाे। बच्चा निकै थकित, कमजोर र भोकाएको अवस्थामा देखिन्थ्यो।

गैंडाको बच्चालाई त्यसै छाड्दा बाघले मार्न सक्ने वा बच्चा भोकले मर्न सक्ने अवस्थाको विश्लेषण गरेर उद्धार गरेर राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा ल्याइयो। नाम जुराइयाे ‘अन्जली’।

पुष्पा र अञ्जली राष्ट्रिय प्रकृति संरक्षण काेषकाे आँगनमा खेलिरहेका भेटिन्छन्। पुष्पा ३२ महिनाकी भइन् भने अञ्जली १७ महिनाकी। आमाकाे साथ गुमाएका उनीहरु एकअर्कासँग खेल्दै हुर्किए। उनीहरु काेषकाे रेखदेखमा हुर्किए। उनीहरुकाे हेरचाहकाे सम्पूर्ण जिम्मा लालबहादुर महतराकाे छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्किएका पुष्पा र अञ्जलीलाई जंगलमा छाड्ने बेला नभएकाे काेषले जनाएकाे छ। काेषका प्राविधिक टीका थारुका अनुसार अझै बाघकाे डर हुन्छ।

कर्मचारीको रेखदेख र माया ममतामा हुर्किएका उनीहरूलाई ‘वाइल्ड’ बनाउनु चुनौतीपूर्ण हुने काेषका भेटेरीनेरी डाक्टर अमिर साडाैला बताउँछन्। यसअघि पनि उद्धार गरेर ल्याएका गैंडा जंगल जान नमानेकाे उनीसँग अनुभव छ।

‘उद्धार गरेर ल्याइएका र मानिसले हुर्काएका गैंडा जंगल जान खासै रूचाउँदैनन्,’ उनले भने।

कोषमा नै हुर्काइएका धेरैजसो मानिसकै बस्तीतिर आउने, हिँड्ने गरेका छन्।

कोषमा बस्दा गैंडाका बच्चाहरु मानिसको स्याहारमा हुर्किने हुँदा मानिससँग निकै नजिक हुन्छन्। मानिसले हुर्काएर पालेका जनावरलाई ‘वाइल्ड’ बनाउनु चुनौतीपूर्ण हुन्छ।

पुष्पा र अञ्जली दुबै स्वस्थ छन्। नजिकैको जंगलमा सँगसँगै जाने र चर्ने गर्छन्। जंगलबार ल्याएदेखि खासै बिरामी भएका छैनन्। भेटेनरी चिकित्सकहरुकाे प्रत्यक्ष निगरानी हुने भएकाले गैंडाका टुहुरा बच्चाहरुलाई कोषको कार्यालय परिसरमै राख्ने र हुर्काउने गरिएको छ।

पुष्पा र अञ्जली जस्तै पछिल्लाे १३ वर्षमा साैराहाकाे राष्ट्रिय प्रकृति संरक्षण काेषले करिa १२ वटा गैंडाका बच्चा उद्धार गरेकाे छ। जसमा ५ वटा जिउँदै छन् भने बाँकी मेरेका छन्।

काेषका प्राविधिक टिका थारुका अनुसार उद्धार गरे सदर चिडिया खाना जावलाखेल ल्याइएका दुई भाले र एक पाेथीमध्ये भाले बच्चा ‘वांगे’ र ‘विरु’ जिउँदै छन् भने पाेथीकाे मृत्यु भएकाे छ। त्यस्तै भाले ‘मेघाैली’ चितवनका विभिन्न बस्तीका बाटामा डुलिरहेकाे भेटिन्छ। बाढीले बगाएर ल्याएकाे ‘त्रिवेणी’ चीन पठाइएकाे छ।

थारुका अनुसार यसरी उद्धार गरेर ल्याइएकाे अधिकांस बच्चाहरु बाघ वा गाेहीकाे आक्रमणमा परेर घाइते भएका छन्। घाइते बच्चा हिँड्न नसकेका कारण आमाकाे साथबाट छुट्ने गरेका छन्।

तस्बिरहरुः प्रभात खनाल/देशसञ्चार

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्