गठबन्धनलाई शंकर पोखरेलकाे प्रश्न: विवाहलगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ?

फाइल तस्बिर

काठमाडाैँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनबाट गणतन्त्रमाथि आक्रमण भएको आरोप लगाएका छन्।

काठमाडौँमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकतासम्बन्धी समस्या समाधानका लागि राष्ट्रपतिको सन्देशलाई उपेक्षा गरेर गठबन्धनले गणतन्त्रमाथि आक्रमण भएको आरोप लगाएका हुन्।

उनले आफ्ना चेलीबारे चिन्ता नलिएर बाहिरबाट आउने महिलाको चिन्ता लिएको बताए।

महासचिव पाेखरेलले भने, ‘हाम्रा नेपाली चेलीहरू विवाह भएर भारत जाँदा नागरिकता प्राप्त गर्न जति समय लाग्छ, त्यति समयको प्रतीक्षा गर्न बाहिरबाट आउनेले तयार हुनुपर्छ। हाम्रो चेलीहरूको हकबारेमा बोल्न सक्नुपर्‍यो गठबन्धन। आफ्ना चेलीहरूको हकबारे बोल्न नसक्ने गठबन्धन बाहिरबाट आएकाहरूसँग उदार हुनुपर्छ भन्ने मान्यता राख्ने गर्छ।’

विवाहलगत्तै नागरिकता दिने चलन दक्षिण एसियाली देशमा नरहेको बताउँदै उनले भने, ‘म पाँच दलीय गठबन्धनलाई सोध्न चाहन्छु, विवाहलगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ?’

आज पूर्वआइजिपी सर्वेन्द्र खनाल,विवेकशील साझा पार्टीबाट अलग भइ काठमाडौँ- ६ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ, राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, जसपाका नेता होरिलाल चौधरीलगायत  एमालेमा प्रवेश गरेका छन्।

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्