विदेशीलाई नेपाली नागरिकता दिने अधिकार सरकारलाई छैनः ओली

फाइल फोटो।

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी नागरिकलाई नेपालको नागरिकता दिने अधिकार सरकारलाई नभएको बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता वितरण गर्ने नभइ प्रमाण पत्र दिने कुरा भएको बताएका हुन्।

उनले नेपाली नागरिकहरुले नागरिकता पाउनुपर्छ भनेर विधेयक ल्याउँदा अहिले गठबन्धनमा भएका घटकहरुले नै व्यवधान सिर्जना गरेर ऐन जारी गर्न नदिएको आरोप लगाए।

उनले भने, ‘सरकारलाई विदेशी नागरिकलाई नेपालको नागरिकता दिने अधिकार हुँदैन। नागरिकताको प्रमाण पत्र दिने हो, वितरण गर्ने कुरा होइन।’

गठबन्धन सरकारले लोकतान्त्रिक प्रणाली र कानुन मिचेको ओलीको आरोप छ। उनले गठबन्धन सरकारले स्वेच्छाचारी ढंगबाट कानुन मिचेको आरोप लगाएका हुन्।

उनले प्रधानन्यायाधीशजस्तो पदमा रहेका व्यक्तिको महाअभियोग ६ महिनासम्म संसदमा पेस नगर्नु र नजरबन्दमा राख्नु लोकतन्त्रको विरुद्धमा भएको भन्दै प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्ने बताए। उनले देशलाई गलत बाटोमा लगिएको भन्दै देशको स्थिति नबिगार्न र स्वेच्छाचारिता नदेखाउन चेतावनी दिए।

उनले नेपाली जनताले आगामी मंसिर ४ गतेको निर्वाचनबाट गठबन्धनतन्त्रलाई पराजित गरी नेकपा एमालेलाई सत्तामा स्थापित गर्ने बताए। अध्यक्ष ओलीले नेपालको न्यायालयमा अहिले कानुनको राज नरहेको उल्लेख गर्दै संसदको सम्पूर्ण अधिकार प्रयोग गर्ने हक सभामुखलाई नरहेको जिकिर गरे।

उनले जोडजामवाला गठबन्धनका गलत मनासाय आगामी संसदले बोकेर हिँड्नपर्ने कुनै आवश्यकता नरहेको बताए। उनले प्रधानन्यायाधीश पदबाट नहट्दै र अभियोग पुष्टि नहुँदै सुरक्षाकर्मी फिर्ता गर्ने र नजरबन्दमा राख्ने अधिकार कुन कानूनले दियो? भन्दै प्रश्न गरे।

उनले भने, ‘अहिले नेपालको न्यायालयका बारेमा केही बोल्नै पर्दैन। कानुनको राज छैन। प्रधानन्यायाधीशलाई महाअभियोग लगाइन्छ, लगाउनु ठीक थियो कि थिएन? त्यो लगाउनेले जानुन्। संसदले विचार गर्न पाउनुपर्‍यो नि! ६ महिनासम्म सभामुखले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमाथि लागेको महाअभियोगको प्रस्तावना विचार गर्दैन। विचारका लागि संसदसमक्ष पेस पनि गर्दैन। वदनियत छ, दुषित मनशाय छ।’

उनले थपे, ‘कुन कानुनले प्रधानन्यायाधीशलाई बिना पक्राउ पूर्जी नजरबन्दमा राख्नुहुन्छ प्रधानमन्त्रीले जवाफ दिनुपर्छ। लोकतन्त्रको नाम लिन शरम लाग्दैन तपाईहरुलाई? सबै प्रायोजित कुरामा देश चलाउन खोजिएको छ। गलत ढंगमा देश लैजान खोजिएको छ।’

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्