युरोपेली संसदीय प्रतिनिधिमण्डल नेपालमा

काठमाडौँ – युरोपेली संसदीय प्रतिनिधिमण्डल बिहीबार नेपाल आइपुगेको छ। उक्त टोली दुई दिने नेपाल भ्रमणको लागि आएको हो।

नेपालको संविधान २०७२ जारी भएयता नेपालको संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेको प्रगातिका विषयमा जानकारी लिन युरोपेली संसदकी उपाध्यक्ष इभेलिन रेग्नर नेतृत्वको चार सदस्यीय टोली नेपाल आएको हो।

भ्रमण टोलीमा अष्ट्रियाबाट रेग्नर, जर्मनीबाट उलरिक मुलर, म्याक्सिमिलियन केराह र चेक रिपब्लिकबाट टमस जेचोभस्की रहेका नेपालस्थित युरोपेली प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ।

भ्रमणबाट नेपाल र युरोपेली युनियनबीच रहिआएको सहकार्य विस्तार तथा सहकार्य अभिवृद्धिमा योगदान गर्ने विश्वास लिइएको छ।

युरोपेली सांसदको प्रतिनिधिमण्डलले राजनीतिक नेतृत्व, सरकार र नागरिक समाजलगायतसँग सहकार्यका विषयमा अन्तरक्रिया गर्नेछ।

प्रतिनिधिमण्डलले जलवायु परिवर्तन, लैंगिक सवाल र सामाजिक समावेशितालगायत विषयमा सरोकारवालाहरुसँग पनि छलफल गर्ने जनाएको छ।

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्