१२ बुँदे सम्झौतामा भारतको हस्तक्षेप छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले १२ बुँदे सम्झौतामा भारतले हस्तक्षेप गरेको कुरा निराधार भएको बताएका छन्।

बिहीबार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्म वृत्तान्त लोकापर्ण कार्यक्रममा भट्टराईले २०६२ साल मंसिरमा भएको १२ बुँदे सम्झौता दिल्लीमा भए पनि त्यसमा भारतको भूमिका नरहेको जिकिर गरेका हुन्।

थापाको आत्म वृतान्तमा ‘१२ बुँदे सम्झौता भारतले गराएको’ उल्लेख गरेका छन्। उक्त कुरामा सत्यता नरहेको बताउँदा उनले दिल्लीमा सम्झौता भए पनि त्यसको मस्यौदा आफूहरुले नै तयार पारेको बताए।

भट्टराईले कार्यक्रममा भने, ‘हामीले १२ बुँदे सम्झौता दिल्लीमा भारतले हस्तक्षेप गरेको होइन। गलत कुरालाई यसरी लेखिनु हुन्न। त्यसको मस्यौदा म केपी ओली जी र नारायणकाजीले गरेका हौँ। त्यसलाई गिरिजा बाबु र प्रचण्डले अन्तिम रुप दिनुभएको हो।’

त्यस्तै पूर्वप्रधानमन्त्री भट्टराईले कटुवाल प्रकरणमा तत्कालीन सरकारको उद्देश्य नेपाली सेना नै कब्जा गर्ने नभएको बताए।

दुई सेनाबीचको समायोजन ठीक ढंगले होस् भनेर आफूहरुले कटुवाललाई हटाएको उल्लेख गरे। भट्टराईले भने, ‘हामीले नेपाली सेनालाई नै कब्जा गर्न खोजेको होइन। दुई सेनाको समायोजना गर्न चाहेका हौँ।’

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्