अपांगता भएका व्यक्तिका लागि विराटनगरमा रोजगारी मेला हुने

मोरङ – विराटनगरमा आउँदो कार्तिक १८ र १९ गते अपांगता भएका व्यक्तिका लागि रोजगारी मेला हुने भएको छ।

बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले प्रदेशका विभिन्न ८ जिल्लाका अपांगता भएका व्यक्तिहरुका लागि रोजगारी सुनिश्चित गराउने उद्देश्यले मेला गर्न लागेको बताए।

पत्रकार सम्मेलनका क्रममा उपाध्यक्ष राउतले मेलामा एक सय बढी रोजगारदाता र करिब ३ सयको संख्यामा अपांगता भएका व्यक्तिलाई मेलामा सहभागी गराइने जानकारी दिए।

फरक क्षमता राख्ने मानिसहरुलाई रोजगारीबाट बन्चित गर्न हुन्न भन्ने भावनासहित महासंघ, द लेप्रोसी मिसन नेपाल, राष्ट्रिय अपांग महासंघ नेपाल र करुणा फाउण्डेसनको संयुक्त आयोजना मेला हुने भएको हो।

मेलाका लागि सामाजिक विकास मन्त्रालय प्रदेश १ समन्वय उद्योग संगठन मोरङ, करुणा फाउण्डेशन, मोरङ व्यापार संघ, विराट व्यापार संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको सहयोगमा हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

पत्रकार सम्मेलनमा उद्योग संगठन मोरङका अध्यक्ष सुयष प्याकुरेलले अपांगता भएकाहरुका लागि निजी क्षेत्रले केही गर्न नसके पनि आयोजना हुने मेलाबाट लाभान्वित हुने बताए। अपांगता भएकाहरुका लागि आवश्यक पूर्वाधार तयार गर्न नसकेको बताएका अध्यक्ष प्याकुरेलले अपांगता भएकालाई उनीहरुको क्षमता र मेहनतका आधारमा बलियो बनाउनेतर्फ निजी क्षेत्र कटिबद्ध रहेको उल्लेख गरे।

कार्तिक १८ र १९ गते आयोजना हुने मेलाले मुख्यतः गार्मेन्ट, वित्तीय, शैक्षिक, साना उद्योग, स्वास्थ्य, उत्पादन लगायत ९ वटा क्षेत्रलाई प्राथमिकतामा राखेको छ। मेलामा रोजगारदाताको माग र रोजगार आवश्यकको क्षमता मिलेपछि रोजगारीको छनोट हुने र रोजगार सुनिश्चित हुने बताइएको छ।

यसका लागि आयोजक पक्षले प्रदेशको मोरङ, सुनसरी, झापा, धनकुटा, इलाम, संखुवासभा, भोजपुर, पाँचथरबाट मेलामा सहभागी हुनेछन्। प्रदेशमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले ७२ जना अपांगता भएकाले औपचारिक क्षेत्रमा रोजगारी पाएको जनाएको छ।

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्