सूर्यबहादुर थापाको जीवनकालमा मुलुकमा धेरै सकारात्मक कामहरु भएः प्रधानमन्त्री देउवा

सूर्यबहादुर थापाको आत्मकथा 'मेरा नौ दशक'को लोकार्पण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई। स्वर्गीय थापा पाँच पटक प्रधानमन्त्री भएका थिए। तस्बिरः बर्षा शाह/देश सञ्चार

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापालाई नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्तिका रुपमा स्मरण गरेका छन्।

बिहीबार काठमाडौँमा भएको पूर्वप्रधानमन्त्री थापाको आत्मकथा ‘मेरा नौ दशक’ लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

प्रधानमन्त्री देउवाले स्व. थापाले आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सुसञ्चालन गर्न सफल भएको बताए। उनले सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि गतिलो कृति बन्ने विश्वास व्यक्त गरे। उनले यो आत्मकथा आजका युवा पुस्ता र राजनीतिकर्मीहरुका लागि यादगार कृति हुने पनि बताए।

उनले भने, ‘सूर्यबहादुर थापा नेपाली राजनीतिक इतिहासमा सुप्रसिद्ध व्यक्ति हुनुहुन्छ। आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सुसञ्चालन गर्न सफल हुनुभयो। उहाँको जीवन कालमा मुलुकमा धेरै सकारात्मक कामहरु भए। मुलुकले इतिहासमा पहिलो पटक जनमत संग्रहसमेत उहाँकै कार्यकालमा भएको थियो। नेपाली राजनीतिका विभिन्न आरोह, अवरोह भोग्नुपरेका सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि एउटा गतिलो कृति हुनेछ। यो आत्मकथा आजका युवा पुस्ता र राजनीतिककर्मीहरुका लागि यादगार कृति हुने विश्वास लिएको छु।’

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्